फ्रि भिसा कार्यान्वयनमा छैन : मन्त्री अर्याल


श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले फ्रि भिसाको व्यवस्था कार्यान्वयनमा नरहेको बताएका छन् । शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले वैदेशिक रोजगारीमा जानेसँग दश हजारमात्रै सेवा शुल्क लिन पाउने व्यवस्था कार्यान्वयनमा नरहेको बताएका हुन् ।

उनले भने, ‘‘नेपालबाट विदेशिने तमाम नागरिकहरुको बारेमा हामीले सुक्ष्म तरिकाले अध्ययन गरेका छौँ । मेरो करिव १२४ दिन मन्त्रालयमा बस्दै गर्दा धेरै नै अध्ययन र निर्णय गर्ने तयारीमा फाइल पनि अघि बढेको छ । मैले अघि एउटा डाटा भनेको थिएँ, दुई खर्ब, एक अर्ब ६० करोड रुपियाँ हरेक वर्ष गैरबैंकिङ च्यानलमा नेपालमा उठिरहेको म्यान पावर व्यवसायीहरुले उठाइरहेको नेपाली नागरिकहरुसँग जो विदेश जाँदै हुनुहुन्छ, भन्ने तथ्याङ्कमा पनि हामीले काम गरिरहेका छौँ ।,’’ मन्त्री अर्यालले भने, ‘‘यो भनेको सबैले बुझेकै कुरा हो, नेपाल सरकारले फ्रि टिकट, फ्रि भिसा वा १० हजार रुपियाँ सेवा शुल्क लिएर विदेश पठाउन पाउने जुन निर्णय गर्‍यो, त्यो निर्णय गर्दा कति दूरगामी अध्ययन गरेर निर्णय गरियो, त्यसको बहस गर्न म चाहन्न । जुन निर्णयले गर्दा व्यवसायीहरुलाई अझ रकमहरु असुल्ने, बिचमा विचौलियाले रकम असुल्ने तर नागरिकहरु विदेश जाँदै गर्दा १० हजार रुपियाँको मात्रै उहाँहरुलाई रिसिभ दिने र दुःख पाएर फर्किनुपर्ने अवस्था थियो ।’’

यस्तै, मन्त्री अर्यालले वैदेशिक रोजगारीलाई छिट्टै व्यवस्थित र मर्यादित बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले मन्त्रालयले विदेश जाने श्रमिकहरु नठगिने र म्यानपावर व्यवसायीहरुले पनि वैध रुपमा मात्रै रकम लिन पाउने गरी अध्ययन भइरहेको र छिट्टै कार्यविधि बनाउने जानकारी दिए ।

उनले नेपालमा गैरबैंकिङ च्यानलबाट हरेक वर्ष दुई खर्ब, एक अर्ब ६० करोड रुपैयाँ म्यान पावर व्यवसायीहरुले उठाइरहेको तथ्याङ्क आफूले पाएको भन्दै अहिले अध्ययन गरी व्यवस्थित गराउने तयारीमा आफू रहेको बताए । उनले विदेश जाँदा सीप तालिम सिकेर जान आवश्यक रहेको र सरकार सोही दिशामा अग्रसर रहेको पनि बताए । मन्त्री अर्यालले श्रमिकहरुलाई विदेशमा गएर पनि मर्यादित काम र उचित पारीश्रमीकको व्यवस्था मिलाउने गरी व्यवस्थित गरिने बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।