त्रिवेणीको गण्डक ब्यारेजमा भेटियो दुई शव


नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को त्रिवेणीस्थित गण्डक ब्यारेजमा दुई वटा शव फेला परेको छ । नारायणी नदीलाई बाँध बाधेर सिँचाइका लागि पानी लगेको ठाउँमा आइतबार साँझ दुई वटा शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार विनयी त्रिवेणी गाउँपालिका–७ स्थित गण्डक नहरमा दुई पुरुषको शव फेला परेको हो ।

शव भेटिएको स्थानमा त्रिवेणी चौकीबाट प्रहरी नायब निरीक्षक महेश रायमाझीको नेतृत्वमा पाँच जना तथा इलाका प्रहरी कार्यालय दुम्कीवासबाट प्रहरी निरीक्षक पदम थापाको नेतृत्वमा छ जनाको प्रहरी टोली परिचालन गरिएको पौडेलले बताए ।

दुवै शव शुक्रबार बिहान चितवनको भरतपुर–२९ सिमलतालबाट पहिराले बगाएको बसको यात्रु हुनसक्ने आशङ्का गरिएको छ । शवको पहिचान खुल्न सकेको छैन । शवबारे अनुसन्धान भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।