नेप्सेमा ३२ अंकको वृद्धि, कुन कम्पनीका लगानीकर्ताले कमाए ?

0
Shares

सेयर बजार परिसूचक मापक नेप्से बिहीबार ३२ अंकले बढेर २५६८.११ बिन्दुमा पुगेको छ । बुधबार अल्पकालीन लगानीकर्ताले नाफा सुरक्षित गर्दा २७ अंकले ओरालो लागेको बजारमा साताको अन्तिम दिन उत्साहजनक सुधार देखिएको हो ।

बिहीबार १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार ४९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा यसदिन २ अर्ब ७ करोड ७ लाख ७८ हजार रुपैयाँले घटेको हो । बिहीबार ३२० कम्पनीका ३ करोड ५५ लाख ९४ हजार ८६८ कित्ता सेयर १ लाख ५९ हजार ७५७ पटक खरिद बिक्री भएको हो ।

आज कारोबारमा आएका १३ उपसमूहगत परिसूचकमध्ये ४ उपसमूहको परिसूचक घटेको छ भने ९ ओटा बढेका छन् । यसदिन लघुवित्त सर्वाधिक ६.८३ प्रतिशत बढेको भने निर्जीवन बीमा २.९५ प्रतिशत, बैंकिङ्ग १.३६ प्रतिशत, फाइनान्स १.२२ प्रतिशतले बढेको छ । विकास बैंक, जलविद्युत, लगानी र अन्यको घटेका छन् ।

सानिमा जीआईसी इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार

सानिमा जीआईसी इन्स्योरेन्सको आज सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ३४करोड १७ लाख ७९ हजार रुपैयाँ बराबरको ४ लाख ६८ हजार ४९५ कित्ता सेयर खरिद बिक्री भएको हो । यस्तै दोस्रो ठूलो कारोबार भएको हिमालयन लाइफ इन्स्योरेन्सको २४ करोड ६४ लाख रुपैयाँ, शिवम् सिमेन्ट्सको २३ करोड ७२ लाख, फस्ट माइक्रोफाइनान्सको २३ करोड ५९ लाख र हिमालयन रि इन्स्योरेन्सको २० करोड ६८ लाख रुपैयाँ बराबरको धितोपत्र किनबेच भयो ।

चौध कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले बढ्यो

बिहीबार चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा कुल १४ कम्पनीको मुल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । यसदिन उपकार लघुवित्त, जीवन विकास लघुवित्त, एशियन हाइड्रोपावर र गणपति लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । यस्तै राष्ट्रिय बीमा कम्पनीको ९.९४ प्रतिशत, आरएसडिसी लघुवित्तको ९.७४ प्रतिशत, नाडेप लघुवित्तको ९.७२ प्रतिशत, लक्ष्मी लघुवित्तको ९.७० प्रतिशत, बोटलर्स नेपाल लिमिटेडको ९.५७ प्रतिशत, डिप्रोक्स लघुवित्तको ९.५०प्रतिशत, नेपाल फाइनान्सको ९.३७ प्रतिशत, ग्लोबल आइएमई लघुवित्तको ९.२८ प्रतिशत, एनआईसी एशिया लघुवित्तको ९.१६ प्रतिशत र ग्रामीण विकास लघुवित्तको ९.०८ प्रतिशतले मूल्य बढेको हो ।

उता आजको बजारबाट मितेरी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै ७.६५ प्रतिशतले गुमाएका छन् । अघिल्लो दिन बुधबार बैंकको मूल्य ७.६६ प्रतिशतले बढेको थियो । यसैगरी माण्डू हाइड्रोपावरको ४.६८ प्रतिशत, ८.५% एसबिएल डिबेञ्चर २०८४ को ३.९२ प्रतिशत, कालिका पावर कम्पनीको ३.८१ प्रतिशत र आरम्भ चौतारी लघुवित्तको ३.८१ प्रतिशतले मूल्य बढेको छ ।

कारोबार कित्ताका आधारमा सिटिजन सुपर ३० म्युचुअल फन्डको सबैभन्दा धेरै ११ लाख ४६ हजार ७५० कित्ता कारोबार हुँदा संख्याका आधारमा हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै ३ हजार ६०७ पटक कारोबार भयो ।

आजको कारोबारपछि कुल बजार पुँजीकरण ४० खर्ब ७४ अर्ब ८८ करोड ६६ लाख रुपैयाँमा समेटिएको छ । अघिल्लो दिनको तुलनामा बजार पुँजीकरण ५० अर्ब ८२ करोड ३ लाख रुपैयाँले बढेको हो । बुधबार कुल बजार पुँजीकरण ४० खर्ब २४ अर्ब ६ करोड ६३ लाख ६७ हजार रुपैयाँ थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।