चीनबाट ६५ अर्बको सामान आयात हुँदा एक अर्ब ९६ करोडको मात्रै निर्यात

0
Shares

गत आर्थिक वर्षमा रसुवागढी नाकाबाट ६५ अर्ब २२ करोड ६३ लाख रूपैयाँ बराबरको चिनियाँ सामग्री नेपाल आयात गरिएको छ।

आयात गरिएका सामग्रीमा इन्धन एवं विद्युतीय सवारीसाधन, तयारी कपडा, रवर, जुत्ता, चप्पल, हाते झोला, होजियारी कपडा, जुत्ता तयार गर्ने सामग्री, स्याउ, लसुन ओखरलगायत रहेको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले जानकारी दिए।

निर्याततर्फ भने एक अर्ब ९६ करोड १८ लाख रूपैयाँ बराबरको तामाका भाँडाकुँडा, गलैँचा, चाउचाउ, नुड्लर्स, पास्ता, जडीबुटी, आल्मोनियमका भाँडाकुँडा, पछ्यौरा, सल, दोसल्ला, बुक व्यान्डिङका कपडा, तयारी कपडासमेत एक अर्ब ९६ करोड १८ लाख रूपैयाँ बराबरका सामग्री रहेका छन्। आयात भएका सामानको परिमाण घटाइ विवरण बुझाउने व्यापारीलाई कानूनबमोजिम जरिवाना गर्ने गरिएको उनले बताए।

गत आवमा कम परिमाण देखाउने व्यापारीबाट ६१ करोड ६० लाख रूपैयाँ जरिवाना गरिएको प्रमुख भन्सार अधिकृत पाठकले जानकारी दिए। बस, कार, ट्रक, टाइसाइकल, भ्यानसमेतका सवारीसाधन आयात भएका थिए।

गत आवमा सात हजार तीन सय ७७ चिनियाँ सवारीसाधन आयात भएका थिए। सोमध्ये तीन सय ४५ इन्धनबाट चल्ने र सात हजार ३२ वटा भने विद्युतीय सवारीसाधन रहेको अभिलेखकर्ता कम्प्युटर अधिकृत निर्मल कँडेलले बताए।

गत वर्ष आयात भएका सवारीसाधनको मूल्य १९ अर्ब ५७ करोड ४५ लाख रहेको भन्सारको तथ्यांकमा उल्लेख छ। आव २०७९/८० मा एक हजार सात सय मात्र सवारीसाधन आयात भएका थिए।

आव २०८०/८१ को भन्सार शुल्क, जरिवाना, भ्याटसमेतको २० अर्ब ३६ करोड ९७ लाख ८२ हजार रूपैयाँ असुल भइ राज्यकोषमा दाखिला भएको भन्सार कार्यालयले जनाएको छ। रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १२ साउन २०८१, शनिबार  १४ : ५४ बजे