धितोपत्र बजारमा प्रयोग हुने सर्किट ब्रेकर के हो ? कारोबार कसरी रोकिन्छ ?

0
Shares

विश्वको जुनसुकै देशमा पनि शेयर बजार आउने तीव्र उतार चढावबाट लगानीकर्तालाई धेरै असर नपुगोस् भन्नका लागि निश्चित प्रतिशतको घटबढमा कारोबार स्थगन गर्ने प्रणाली कानुनी रुपमा नै व्यवस्था गरिएको हुन्छ । जसलाई हामी छोटो शब्दमा सर्किट ब्रेक भनेर भन्ने गर्दछौं । यो सकारात्मक र नकारात्मक दुबै किसिमको हुने गर्दछ ।

सेयर बजार तीव्र गतिमा उकालो लाग्दा वा ओरालो लाग्दा लगानीकर्तालाई धेरै असर नपरोस् भन्नका लागि निश्चित प्रतिशतको उतार–चढावमा कारोबार स्थगन गर्ने प्रणाली नै सर्किट ब्रेक हो ।  पुँजी बजारको फन्ट लाईन रेगुलेटर नेप्सेले पनि यो प्रणाली लागू गरेको छ । नेपाल स्टक एक्सचेञ्जले विसं २०६४ सालदेखि अस्वाभाविक उतारचढावलाई नियन्त्रण गर्न सर्किट ब्रेकको व्यवस्था गरेको हो ।

२०६४ अघि सेयर बजारमा एकैदिन जतिपनि घटबढ हुनसक्ने व्यवस्था थियो । २०६४ सालदेखि सुरु भएको व्यवस्थामा केही बुँदाहरु परिमार्जित भएका छन् । पछिल्लो समय २०७५ चैत १९ गतेदेखि लागू भएको नयाँ व्यवस्था अनुसार नेप्सेमा सर्किट ब्रेक लागिरहेको छ । यो व्यवस्थापछि एकै दिनमा नेप्से परिसूचक ६ प्रतिशत भन्दा बढी बढ्न वा ६ प्रतिशतभन्दा धेरै घट्न पनि सक्दैन ।

सर्किट ब्रेकरको व्यवस्था समग्र बजारमा मात्रै होइन कुनैपनि कम्पनीहरुमा समेत लगाएको हुन्छ । धितोपत्र बजारमा कारोबार हुने कुनै कम्पनीको सेयर मूल्य एक दिनमा अघिल्लो दिनको मूल्यभन्दा १० प्रतिशत घटबढ भएमा सर्किट ब्रेकर लगाइन्छ ।

यसको मतलब कुनै एक ‘एबिसी’ भन्ने कम्पनीको सेयर मूल्य ३१० रुपैयाँ छ । यसो हुँदा यो कम्पनीको सेयर मूल्य ३१० रुपैयाँको १० प्रतिशत अर्थात ३१ रुपैयाँ बढेर ३४१ रुपैयाँको विन्दुमा पुगेमा सर्किट ब्रेकर लाग्छ । घट्दा पनि सोही किसिमले १० प्रतिशत अर्थात ३१ रुपैयाँ घटेर १७९ रुपैयाँसम्म झर्न सक्छ । तर एकैदिन ३१० रुपैयाँबाट घटेर २७९ रुपैयाँमा झर्दैन वा बढेर ३४१ रुपैयाँभन्दा माथि पनि पुग्न सक्दैन । कुनै एक कम्पनीको मूल्यमा सर्किट लाग्दा सो कम्पनीको मूल्य तोकिएको मूल्य सीमाभन्दा धेरै बढ्न वा घट्न सक्दैन । यस्तै अन्य कम्पनीको वा सोही कम्पनीको पनि सेयर कारोबार भने रोकिँदैन ।

कसरी रोकिन्छ सेयर कारोबार ?

कारोबार सुरु भएको पहिलो घण्टा अर्थात ११ देखि १२ बजेको बीचमा ४ प्रतिशतले सेयर बजार बढे वा घटेमा २० मिनेटसम्म सर्किट ब्रेक लाग्ने गर्दछ । यस्तै दोस्रो घण्टा अर्थात १२ देखि १ बजेको बीचमा ५ प्रतिशतले बजार बढे वा घटेमा ४० मिनेट तथा तेस्रो घण्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार स्थगित गर्ने व्यवस्था छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।