तीन तहको सरकारले कृषि क्षेत्रलाई प्रथामिकता नदिदाँ आयात बढ्दै गयो


तीन तहको सरकारले कृषि क्षेत्रलाई प्रथामिकता नदिँदा कृषिजन्य उपजहरुको आयातमा वृद्धि हुँदै गएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।

खाद्यका लागि कृषि अभियान र एशोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्ट(अनाज) को संयुक्त आयोजनामा गरिएको कृषिको समाकालिन अवस्था माथि पत्रकारहरुसँगको छलफल कार्यक्रममा बोल्दै सरोकारवालाले मुलुकमा भएको बढ्दो आयात र कृषिजन्य उपजको उत्पादनमा भएको कमिले गर्दा देशमा आर्थिक संकट पनि बढ्दै गएको बताएका हुन् ।

कार्यक्रममा बोल्दै बगमती प्रदेशकी सांसद विमला पोख्रेलले तीनै तहका सरकारले कृषि क्षेत्रलाई प्रथामिकता नदिँदा देशभित्र कृषिक्षेत्र संकटउन्मुख रहेको बताइन्। राजनीतिक विचारका कारणले गर्दा पनि कृषि क्षेत्रको विकास हुन नसकेको भनाइ उनको छ।  पोख्रेलले भनिन्, “हाम्रो तीन तहका निकायमा विभिन्न राजनीतिक विचार भएका व्यक्तिहरु हुनुहन्छ । त्यसकारण एउटाले गरेको निर्णय अर्कोले खरोज गर्दा दिगो कृषि विकास भएको छैन्, यसलाई हामीले विचार गर्नुपर्छ ।”

उनले पत्रकारहरुले कृषि क्षेत्रका नकारात्मक समाचारलाई भन्दा पनि कृषि क्षेत्रमा भएका सफलताका कथालाई समेत प्रथामिकता दिन आवश्यक रहेको बताइन् । उनले भनिन्, “नकारात्मक कुराहरुको पनि हामीले पर्दाफास गर्नुनै पर्छ तर त्योभन्दा पहिला हामीले समाज भएका सकारात्मक कुरालाई पनि जोड दिदाँ यो क्षेत्रको विकास हुन्छ ।”

टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले सरकारको दिगो योजना नहुँदा कृषि क्षेत्रमा भनेजस्तो प्रगाति नभएको बताए । उनले आजभन्दा ४० वर्षअघि सरकारले कृषि क्षेत्र र अवास क्षेत्रलाई वर्गीकरण गरेको भए कृषि उत्पादनमा वृद्धि हुने दाबी गरे ।

उनले आम नागरिकलाई छिटो भन्दा छिटो सम्पन्र हुने हुटहुटी भएकाले कृषि क्षेत्रलाई कसरी अघि बढाउने भन्ने दिर्घकालिन सोच नराखेको समेत बताए । उनले भने, “स्थानीय तहहरुले कृषि क्षेत्रलाई मुख्य अधार बनाएर अघि बढाए देशलाई कृषिमा आत्मनिर्भर बनाउन सकिन्छ र आयात समेत रोकिन्छ ।”

अधिकारीले राज्यले कृषि क्षेत्रतर्फ बनाउने नीतिमा समेत ध्यान नदिएको आरोप लगाए । उनले राज्यले कृषि क्षेत्र तर्फ बनाएका अधिकांश कानुनहरु कृषिको विकासको लागि बाधक हुँदा कतिपय स्थानीय तहहरुले सोच अनुरुप काम गर्न नसकेको बताए । नगरपालिको कृषियोग्य भूमि घोषणा गर्न जनतासँग सर्वेक्षण गरेको तर जनताले आफ्नो जमिनलाई कृषि भूमिको रुपमा घोषणा गर्न नमानेकाले टोखामा कृषियोग्य भूमि कम भएको जानकारी गराउँदै खेती गरिरहेकाको हकमा प्राथमितासाथ साथ दिएको बताए।

खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले कृषि क्षेत्रमा समस्याहरु विकारल रहेको बताउँदै अगामी दिनमा अझै ठूलो छलफलको आवश्यकता रहेको बताए । उनले वर्तमान सरकारले कृषि क्षेत्रलाई प्रथामिकतामा राखेर काम गरे देशको आर्थिक अवस्था समेत मजबुत हुने र आयात प्रतिस्थापन हुने दाबी गरे ।

“हामीले कृषि क्षेत्रका समस्याहरुको बारेमा छलफल गर्छौ तर सरकारले यसलाई प्रथामिकतामा दिएको छैन । त्यसैले पत्रकार र अभियानको सहकार्यमा कृषिको विकासमा हातेमालो गर्न आवश्यक छ,” उनले भने ।

राष्ट्रिय कृषक समुह महासंघका अध्यक्ष पंचकाजी श्रेष्ठले राज्यका तीन तहका सरकारले कृषि क्षेत्रलाई कम प्रथामिकता नदिँदा कृषिमा क्रान्ती नभएको बताए । उनले पत्रकारले खोज मुलक कृषि सामाग्रीहरु पस्किन र राज्यको ध्यानकर्षण गर्नको लागि निरन्तर कलम चलाउन समेत आग्रह गरेका थिए ।

तनहुँमा कृषि फार्म चलाउँदै आएका पूर्वपत्रकार नारायण वाग्लेले सरोकारवालाले किसानको मुद्दाको विषयमा वहस गरेर यसलाई निरन्तर दिन आवश्यक रहेको बताए । उनले भने, “किसानको मुद्दामा केन्द्रित हुन आवश्यक छ भने कृषिमा देखिएका समस्याहरुमा निरन्तर कलम चलाएर यस क्षेत्रमा देखिएको समस्याको समाधान गर्नतर्फ पहल गर्नुपर्ने अहिलेको आवश्यकता छ ।”

वाग्लेले संचारमाध्यमले कृषिका विषयलाई कम प्राथमिता दिने गरेकाले पनि कृषि क्षेत्रले समस्या भोग्दै आएको बताए। आफ्नो कृषि रिपोर्टिङको अनुभव सुनाउँदै वाग्लेले भने, “मैले ३० वर्षको पत्रकारितामा खाद्यान्नको समाचार लेखेर सम्मान हुने अवसर पनि पाएँ । तर वास्तवमा मैले नै कृषि बिटलाई प्राथमिकता दिएको रहेनछु, अहिले आफैले फार्म चलाउँदा थाहा पाएँ कि किसानका पीडा कस्ता हुँदा रहेछन् ।” उनले आगामी दिनमा कृषिकै लागि समर्पित हुँने जानकारी गराउँदै कृषि पत्रकारहरुको संस्था अनाजले थप कृषि संचार प्रवर्धका कार्यमा लाग्न सुझाए।

कृषि विज्ञ कृष्ण प्रसाद पौडेलले स्थानीय स्रोत साधनमा आधरित परम्परागत एकिकृत खेती प्रणाीलाई उन्नत बनाउने मार्गचित्र मुख्य प्रस्थानविन्दु रहेको बताए । उनले मुलुकलाई आधारभूत खाद्यवस्तुमा आत्मनिर्भर बनाउने र तुलनात्मक लाभका कृषि उपजको प्रवद्र्धनबाट आयात प्रतिस्थापन, रोजगारी र आम्दानीमा वृद्धि गर्ने उद्देश्यमा केन्द्रित हुन समेत आग्रह गरेका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा. हरि बहादुर केसीले मिडियाले विगतदेखि नै समाज परिवर्तनको भूमिका खेलेकाले कृषिमा पनि परिवर्तनको लागि भूमिका खेल्न आग्रह गरेका छन् । उनले तीन तहका सरकारमा अधिकार र कर्तव्य जाँदा कुन तहले के कुरामा प्रथामिकता दिएको छ भन्ने विषयमा समिक्षा गर्न समेत आवश्यक रहेको बताए ।

अनाजका अध्यक्ष किरण आचार्यले सञ्चारकर्मीहरुले कृषि क्षेत्रको विकासको लागि निरन्तर कलम चलाएको र अगामी दिनमा सरोकारवालाहरुसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले सञ्चारमाध्यमहरुले उठाएका विषयहरुले गर्दा कृषि क्षेत्रमा आमूल परिवर्तन भएको बताउँदै सञ्चारकर्मीको क्षमता विकासका लागि आगामी दिनमा यस्ता कार्यक्रमहरु निरन्तर गर्ने बताए ।

कार्यक्रममा सञ्चारकर्मीहरुले किसानहरुको उत्पादनले बजार नपाउँदा अधिकांश किसानहरु यस क्षेत्रबाट विस्थापित भएकाले राज्यले आवश्यक पहल गर्न समेत आग्रह गरेका थिए । उनीहरुले किसानको मुद्दाहरुमा कलम चलाउन कृषिका निकायहरुले समेत समन्वय नगरेको गुनासो गरेका थिए । कृषिका समाचार मिडियाले प्राथमिकतामा राख्नुपर्ने, कृषि पत्रकारको क्षमता अभिवृद्धिका लागि सरोकारवाला निकाय गम्भीर भएर लाग्नुपर्ने, कृषिमा कलम चलाउने पत्रकारहरुले पनि आफ्नो जिम्मेवारीको गाम्भीर्यता महसुस गर्दै थप प्राथमिकतासाथ लाग्नुपर्ने लगायतका सुझाव सहभागीको रहेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।