धितोपत्र बजारमा नीतिगत सुधारपछि नेप्सेमा १७ अंकको उछाल

0
Shares

नेपाल धितोपत्र बोर्डले फागुन १ गते देखि लागू हुने गरि धितोपत्र सम्बन्धी कानूनलाई समसामयिक बनाउन धितोपत्र सम्बन्धी ४ वटा नियमावली संशोधन गरसँगै त्यसको सकारात्मक प्रभाव मंगलबारको शेयर बजारमा देखिएको छ ।

त्यसको प्रभावले मंगलबार शेयर बजार परिसूचक नेप्से १७.११ अंकले बढेर १ हजार ३४१ दशमलव ३८ बिन्दुमा पुगेको छ । ब्यापार बाहेक बाँकी ११ वटै उप समूहका परिसूचक हरियो भएसँगै नेप्सेमा उच्च अंकको वृद्धि भएको हो। ठूला कम्पनीहरु सम्मिलित बैंकिङ्ग र बीमा सहित विकास बैंक र म्युचुअल फण्डको इक्डेक्स पनि १ प्रतिशतले बढेको छ।

यसदिन १७५ कम्पनीका ३९ लाख ९६ हजार ८७७ कित्ता शेयर १५ हजार २३२ पटकको कारोबारबाट १ अर्ब ५३ करोड २२ लाख रुपैयाँमा खरीद बिक्री भए। सोमबारको तुलनामा मंगलबार भएको कारोबार रकम ६० करोड बढी हो। सोमबार ९३ करोडको कारोबार भएको थियो।
कूल कारोबारमा आएका १७५ मध्ये १३३ कम्पनीको शेयरमूल्य बढेको छ भने २३ कम्पनीको मात्र शेयरमूल्य घटेको छ। १९ कम्पनीको शेयरमूल्य स्थीर रह्यो।

मंगलबारको बजारमा कालिका पावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरणमा खुद नाफा प्रतिशले बढाएपछि शेयरमूल्य उच्च बढेको हो। गत आवको यसै अवधिमा  २ करोड ३ लाख नाफा कमाएको यस कम्पनीको नाफा ९६ प्रतिशतले बढेर ३ करोड ९८ लाख पुगेको थियो।

यसैगरि नेपाल सेवा लघुव्त्ति ९.८३ प्रतिशत, नेपाल हाइड्रो डेभलपर कम्पनीको ७.५० प्रतिशत, लक्ष्मी लघुवित्त र स्वरोजगार लघुवित्त, दिब्येश्वरी हाइड्रोपावर, सर्पोट माइक्रोफाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, निर्धन उत्थान लघुवित्त र बेष्ट फाइनान्सको शेयरमूल्य पनि ५ प्रतिशत बढीले उचालिएको छ।

उता युनियन हाइड्रोपावरका लगानीकर्ताले आजको बजारबाट ५.०८ प्रतिशतका दरले गुमाएका छन्। मूल्य घटेसँगै कम्पनीको प्रतिकित्ता ५६ रुपैयाँमा झरेको छ । यसैगरि सैन्ट्रल फाईनान्स, रिलायन्स फाइनान्स, साल्ट ट्रेडिङ्ग कर्पोरेसन, बोर्टलर्स नेपाल तराईको शेयरमूल्य घटेको छ।

  • नाफा घटेपनि शिवम् सिमेन्टको सर्वाधिक कारोबार

करिब ३० प्रतिशतले नाफा घटेको वित्तीय विवरण सार्वजनिक  गरेपनि मंगलबार पनि शिवम् सिमेन्टको प्रतिकित्ता १४ रुपैयाँ मूल्य बढेर सर्वाधिक कारोबार भएको छ । कम्पनीको २ लाख ७२ हजार २२४ कित्ता शेयर १५ करोड २ लाख रुपैयाँमा खरीद बिक्री भएको हो।

यसैगरि एनआईसी एशियाको ११ करोड २३ लाखको कारोबार हुँदा सिभिल बैंक, छिमेक लघुव्त्ति, नागरिक लगानी कोष, स्वरोजगार लघुवित्त, नेपाल लाईफ, एनएमबि बैंक, सिद्धार्थ इन्स्योरेन्स, र नेको इन्स्योरेन्सको पनि शिर्ष दश ठूलो कारोबार भएको छ। दशमध्ये सबैभन्दा कम कारोबार भएको नेकोको ३ करोड २७ लाखको कारोबार भएको हो।

बोर्डले धितोपत्र सम्बन्धी कानूनलाई समसामयिक बनाउँदै लैजाने क्रममा साविकको धितोपत्र व्यवसायी (मर्चेन्ट बैङ्कर) नियमावली, २०६४, धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४, सामूहिक लगानी कोष नियमावली, २०६७ र धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ लाई संशोधन गरेपछि बजारले थप उचाई चुमेको हो ।