खराब कर्जा ह्वात्तै बढ्दा इन्भेष्टमेन्ट बैंकको प्रगतिमा अवरोध, प्रतिशेयर आम्दानीमा गिरावट

0
Shares

नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा गत आव को यसै अवधिको तुलनामा नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकले यस अवधिमा २ अर्ब ५८ करोड खुद नाफा कमाएको छ । जुन गत आव को यसै अवधिको तुलनामा ९.६२ प्रतिशत कम हो । गत बर्षको यसै अवधिमा बैंकले २ अर्ब ८३ करोड नाफा गरेको थियो । बैंकको वितरण योग्य नाफा एक अर्ब ४३ करोड छ ।

खराब कर्जाको भार बढ्दा बैंकको संचालन नाफा, खुद नाफा घटेको छ । जसले गर्दा प्रतिशेयर आम्दानी समेत खस्किएको छ । यसअवधिमा बैंकको प्रतिशेयर आम्दानी २३ प्रतिशत बढीले खस्किएको छ । गत आवको तेस्रो त्रैमासमा ३५ रुपैयाँ ५५ पैसामा रहेको यस्तो आम्दानी चालु आवको तेस्रो त्रैमासमा २७ रुपैयाँ १७ पैसामा झरेको छ ।

बैंकले ९२ करोड ४० लाख रुपैयाँ जोखिम व्यवस्थापनमा राखेको छ । जसले गर्दा उसको खराब कर्जा ह्वात्तै बढेको छ । बैंकको खराब कर्जा ३०० प्रतिशतले बढेको छ । ०.७६ प्रतिशतमा रहेको खराबकर्जा चैतमसान्तसम्म ३.०४ प्रतिशत पुगेको छ ।

बैंकको निक्षेप तथा कर्जामा सामान्य सधुार देखिएको छ । चार प्रतिशतले निक्षेप बढाउदा बैंकको कर्जा करिब पाँच प्रतिशतले बढेको छ । बैंकले एक खर्ब ४२ अर्ब निक्षेप संकलन गरेर एक खर्ब २४ अर्ब कर्जा प्रवाह गरेको छ । यस अवधिमा बैंकको कर्जा निक्षेप अनुपात भने ७६.१९ प्रतिशत छ ।

कोषको लागत बढेपनि बैंकको खुद ब्याज आम्दानीमा भने करिब २० प्रतिशतको सुधार देखिएको छ । बैंकले यसअवधिमा खुद ब्याज आम्दानी बाट चार अर्ब १६ करोड आर्जन गरेको छ ।

१२ अर्ब ५८ करोड चुक्ता पूँजीको रहेको बैंकको जगेडाकोषमा १२ अर्ब ४८ करोड छ ।