सबैभन्दा महङ्गो शेयर भएको युनिलिभरको व्यापार बढ्दा पनि घट्यो नाफा

0
Shares

शेयर बजारमा सूचीकृत कम्पनीमध्ये सबैभन्दा महङ्गो शेयर मूल्य भएको युनिलिभर नेपाल (UNL) ले आर्थिक बर्ष ०७६/०७७ को दोस्रो त्रैमाससम्ममा नाफा घटेको वित्तीय विवरण निकालेको छ ।

कम्पनीको व्यापारमा सुधार भएपनि अन्य खर्चहरु बढ्दा नाफामा गिरावट आएको हो । युनिलिभरले चालु आर्थिक बर्षको ६ महिनाको अवधिमा २३ करोड ३५ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा युनिलिभरले ३२ करोड ७ लाख रुपैयाँ गरेको थियो । अघिल्लो वर्षको भन्दा कम्पनीको नाफा २६ प्रतिशतले घटेको हो ।

६ महिनाको अवधिमा युनिलिभरले एक अर्ब ६० करोड ९६ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले आफ्ना उत्पादहरु बिक्री गरेर एक अर्ब ५६ करोड ९९ लाख आम्दानी गरेको छ भने अन्य स्रोतबाट ३ करोड ९७ लाख आर्जन गरेको छ ।

यस अवधिमा कम्पनीको खर्च एक अर्ब ३२ करोड ३० लाख छ । कच्चापदार्थको खर्च, कर्मचारी खर्च तथा अन्य खर्चहरु बढेकाले कम्पनीको नाफा प्रभावित भएको हो ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ९७१ रुपैयाँ कायम भएको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी १३०३ रुपैयाँ थियो। कम्पनीको प्रतिशेयर आम्दानी ३३२ रुपैयाँले घटेको छ।

चुक्ता पूँजी ९ करोड २१ लाख रहेको कम्पनीको जगेडा कोषमा दुई अर्ब ७२ लाख रुपैयाँ सञ्चित छ । अघिल्ले आवको यसै अवधिमा कम्पनीको जगेडा कोषको आकार एक अर्ब ८१ करोड थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ दुई हजार २८० रुपैयाँ र मूल्य आम्दानी अनुपात १९.६७ गुणा छ।