माथिल्लो तामाकोशीको नोक्सान बढ्दै, विद्युत उत्पादन मिति धकेलिँदा कहिले पाउने लाभांस ?


प्रक्षेपित समयभन्दा धेरै परसम्म पुग्दा पनि विद्युत उत्पादन सुरु गर्न नसक्दा माथिल्लो तामाकोशीको नोक्सान बढ्दै गएको छ ।

गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा नोक्सान घटेको देखिए पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा नोक्सानको आकार बढेको हो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा तामाकोशीको खुद नोक्सानी २ करोड ३३ लाख ३९ हजार रुपैंया छ । गत आर्थिक वर्षको यसै अवधिमा ३ करोड २३ लाख १६ हजार रुपैंया खुद नोक्सानी व्यहोरेको तामाकोशी चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ३० लाख ५५ हजार रुपैंया मात्र खुद नोक्सानीमा थियो ।

दोलखामा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको कम्पनीको आयोजना सम्पन्न हुने समय लम्बिदा विद्युत बिक्री बाट आम्दानी गर्न सकेको छैन् । प्रक्षेपित समयमा विद्युत उत्पादन गर्न नसक्ने मात्र नभई चालु आर्थिक वर्षको अन्त्यमा पनि विद्युत उत्पानको काम सुरु हुन नसक्ने सम्भावना तामाकोशीले गरेको छ । सडक तथा निर्माणको काममा देखिएका समस्याले असार मसान्तदेखि नियमित रुपमा विद्युत उत्पादन गर्न चुनौती रहेको वित्तीय विबरणमा उल्लेख छ ।

चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको कम्पनीको ३३ अर्ब ५५ करोड रुपैंया दीर्घकालिन ऋण छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो ऋण ३१ अर्ब रुपैंया थियो भने चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३२ अर्ब ४० कारोड रुपैयाँ दिर्घकालीन ऋण थियो । नेपाल विद्युत प्राधिकरणबाट कम्पनीले १ अर्ब रुपैंया थप ऋण लिएको छ ।

यसका साथै यस अघिको सम्झौता बमोजिम तामाकोशीले सरकारबाट पनि १२ अर्ब रुपैंया दीर्घकालिन लिएको ज । जसमा ६ अर्ब ४७ करोड ८८ लाख ५ हजार रुपैंया व्याज पूँजीकरण भएको तामाकोशीले जनाएको छ ।

आगामी चैत सम्ममा परिक्षण उत्पादन सुरु गरी चालु आर्थिक वर्ष भित्रमा बिद्युत उत्पादन गर्ने लक्ष्य राखेको भए पनि विधि कारणले अझै उक्त अवधिमा विद्युत उत्पादनमा चुनौती रहेको तामाकोशीले जनाएको छ ।

यस अवधिमा कम्पनीले अन्य स्रोतमार्फत ५७ लाख ९५ हजार रुपैंया आम्दानी गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा तामाकोशीले यस्तो शिर्षकबाट २५ लाख १४ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

चालु आर्थिक वर्षको पुस मसान्तमा २२ पैसाले ऋणात्मक रहेको प्रतिशेयर आम्दानी चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १२ पैसाले मात्र ऋणात्मक थियो । अघिल्लो आर्थिक वर्षको पुसमा तामाकोशीको प्रतिशेयर आम्दानी २५ पैसाले ऋणात्मक थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९३ रुपैयाँ ९३ पैसा रहेको प्रतिशेयर नेटवर्थ अहिले ९३ रुपैंया ८३ पैसामा झरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६७३ रुपैंया १६ पैसा रहेको प्रतिशेयर सम्पत्तीको मूल्य पुस मसान्तमा ६८५ रुपैंया ६८ पैसामा उक्लिएको छ ।

नियमित विद्युत उत्पादन सुरु नभएसम्म कम्पनीको नोक्सानी नाफामा रुपान्तरण हुन सक्ने छैन । यस आधारमा कम्पनीका लगानीकर्ताले अझै लामो समयसम्म कम्पनीबाट प्रतिफलको अपेक्षा गर्ने आधार देखिँदैन ।