वर्षदिनमा बीमाको पहुँच चार प्रतिशतले विस्तार

0
Shares

एक वर्षको अवधिमा बीमाको पहुँच चार प्रतिशतले विस्तार भएको छ । अर्थमन्त्रालयले चालु आर्थिक वर्षको अर्धबार्षिक बजेटको समीक्षा सार्वजनिक गर्दै बीमाको पहुँच पुसमसान्तसम्ममा २२ प्रतिशत जनसंख्या पुगेको जनाएको छ ।

मन्त्रालयका अनुसार गत आर्थिक वर्षको पुसमसान्तसम्म १८ प्रतिशत नेपालीमा मात्र बीमा पहुँच पुगेको थियो । एक वर्षको अवधिमा चार प्रतिशतले पहुँच विस्तार भएको हो ।

अर्थमन्त्रालयका अनुसार बैदेशिक रोजगार बीमा समेत जोड्दा यो अनुपात २७ प्रतिशत पुग्नेछ ।गत पुसमसान्तसम्म वैदेशीक रोजगारीमा जाने नेपालीका लागि ८५ लाख १२ हजार ७७४ बीमा लेख बिक्री भएका छन् ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा कम्पनीहरुले लघुबीमा कार्यक्रममा जोड दिनुपर्ने बताउँदै आएका छन् । साना व्यवसायहरुमा बीमाको पहुँच बढाई बीमा क्षेत्र विस्तारको काम अगाडी बढाउन लघुबीमा कार्यक्रम आवश्यक रहेको उनको भनाई छ ।

सरकारले लघुबीमामा कुल प्रिमियमको ७५ प्रतिशत अनुदान दिँदै आएको छ । त्यस्तै बाली तथा पशुबीमा कार्यक्रम अन्तर्गत लाग्ने बीमा शुल्कमा पनि ७५ प्रतिशत अनुदान दिँदै आएको छ ।

साथै बीमाको पहुँच विस्तारका लागी बीमा कम्पनीहरुलाई अनिवार्य रुपपले शाखा रहित घुम्ती बीमा सेवा संचालन गनुपर्ने व्यवस्था कार्यन्वयनमा आएको पनि मन्त्री खतिवडाले जानकारी दिए ।

नेपालमा हाल १९ वटा जीवन बीमा र २० वटा निर्जिवन बीमा गरी कूल ३९ वटा बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन् ।