सरकारी बैंकहरुमा लगानीको प्रतिफल घट्यो, एनआईसी एशियाबाट उच्च प्रतिफल

0
Shares

चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरण अनुसार सरकारी बैंकहरुमा शेयरधनीको लगानीमा प्रतिफल (आरओई) घटेको छ। अर्धवार्षिक वित्तीय विवरण अनुसार निजी क्षेत्रको एनआईसी एशिया बैंकमा सबैभन्दा बढी आरओई देखिएको छ।

गत केही वर्षअघिसम्म सरकारी लगानीका नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक तथा नबिल बैंकमा बैंकहरूमा शेयरधनीको लगानीमा प्रतिफल (आरओई) सबैभन्दा राम्रो देखिँदै आएको थियो। हाल एनआईसी एशिया सो स्थानमा आएको हो ।

लगानीमा प्रतिफल अर्थात आरओईले कुनै पनि बैंकमा एक सय रुपैयाँ लगानी गर्दा त्यसले कमाउने आम्दानीलाई जनाउँछ ।

अर्धवार्षिक वित्तीय विवरणअनुसार एनआईसी एशिया बैंकको आरओई सबैभन्दा धेरै २५ दशमलव १६ प्रतिशत छ । यसको अर्थ एनआईसी एशिया बैंकमा लगानी भएको १०० रुपैयाँले २५.१६ रुपैयाँ गर्छ भन्ने बुझिन्छ । यो अनुपात अन्य वाणिज्य बैंकहरूको तुलनामा सबैभन्दा उच्च हो । बैंकले चालु आवको ६ महिना अवधिमा २ अर्ब १ करोड ६२ लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

वाणिज्य बैंकमध्ये सबैभन्दा बढी शाखा सञ्जाल र ग्राहक बनाएर व्यापार विस्तारमा जोड दिएका कारण बैंकको आरओई वृद्धिमा सहयोग पुगेको हो । कुनै पनि बैंकले उच्च कार्य क्षमता कायम हुँदा राम्रो प्रतिफल प्राप्त गर्ने गरेको पाइन्छ ।

यस्तै आरओईका आधारमा निजी क्षेत्रकै अर्को बैंक हिमालयन बैंक दोस्रो नम्बरमा छ । यस बैंकको आरओई १९ दशमलव ६४ प्रतिशत छ । चालु आवको ६ महिनामा बैंकको खुद मुनाफा १ अर्ब ७४ करोड २४ लाख रुपैयाँ छ ।

सरकारी स्वामित्वको बैंक भएर पनि राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकमा आरओई खस्कँदै गइरहेको छ । यस अवधिमा वाणिज्य बैंक आरओईका आधारमा तेस्रो नम्बरमा रहेको छ । बैंकको आरओई १९ दशमलव ३० प्रतिशत कायम भएको छ । सबै बैकभन्दा धेरै नाफा आर्जन गरेको यस बैंकको शेयरमा गरिएको लगानीको प्रतिफल भने घट्दो छ।

कृषि विकास बैंक २७ वटा वाणिज्य बैंकहरूमध्ये आरओई अनुपातका आधारमा ९ नम्बरमा पर्छ । यस्तै नेपाल बैंक भने हाल २६ औं नम्बरमा पुगेको छ । कुनैबेला उच्च लगानीको प्रतिफल रहेको यस बैंकको पनि अवस्था खस्किएको छ । चालु आवको ६ महिना अवधिमा कृषि विकास बैंकले १ अर्ब ५८ करोड १७ लाख र नेपाल बैंकले १ अर्ब ३५ करोड २३ लाख नाफा कमाएको छ।

नोट: प्रस्तुत तथ्याङ्क बैंकहरुले प्रकाशन गरेको दोस्रो वित्तीय विवरणका आधारमा तयार गरिएको हो। तालिकामा गत आवको बोनस पूँजीकरण गरेर चुक्ता पूँजी कायम गरि सो अनुसार प्रतिशेयर आम्दानी नेटवर्थ, र मूल्य आम्दानी अनुपात गणना गरिएको छ।

लगानीमा प्रतिफलका आधारमा सानिमा चौथो, एभरेष्ट पाँचौं, स्ट्याण्डर्ड चार्टर्ड छैटौं, र नबिल बैंक सातौं नम्बरमा रहेका छन्। यी बैंकको आरओई क्रमश १८.७३, १७.१८, १७.१०, र १७.०९ प्रतिशत रहेको छ। यस अवधिमा सानिमाले १ अर्ब १४ करोड ६३ लाख, एभरेष्ट बैंकले १ अर्ब ५० करोड ९० लाख, स्ट्याण्डर्ड चार्टर्डले १ अर्ब २२ करोड ६९ लाख र नबिल बैंकले २ अर्ब ४ करोड १८ लाख खुद नाफा आर्जन गरेको छ।

यस अवधिमा प्राइम कर्मर्सियल बैंक, कृषि विकास बैंक र एनएमबि बैंकको आरओई १५ प्रतिशतभन्दा धेरै छ । यसैगरि १० भन्दा बढी १५ भन्दा कम आरओई हुने बैंकहरुको संख्या १५ रहेको छ । दुई बैंकको आरओई १० प्रतिशतभन्दा कम छ।

सिभिल बैंकमा एक सय रुपैयाँ लगानी गर्दा त्यसले कमाउने आम्दानी सबैभन्दा कम देखिएको छ । बैंकको आरओई ६.३६ प्रतिशत मात्र रहेको छ। यस्तै नेपाल बैंकको पनि ९.२६ प्रतिशत रहेको छ।

बाँकी १५ बैंकहरु सनराइज, माछापुच्छ्रे, मेगा, प्रभु, नेपाल एसबीआई, सिद्धार्थ, लक्ष्मी, बैंक अफ काठमाण्डू, कुमारी, नेपाल बंगलादेश बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, ग्लोबल आईएमई, सेञ्चुरी, एनसीसी र सिटिजन्स बैंकको आरओईको अनुपात १५ प्रतिशत भन्दा कम र १० प्रतिशतभन्दा बढी रहेको छ ।

पछिल्ला वर्षहरुमा बैंकहरूको आरओई अ घटिरहेको छ। विगतका वर्षहरुमा २० देखि ५० प्रतिशतसम्म आरओई कायम हुने गरेकोमा हाल अधिकांश बैंकको आरओई २० प्रतिशतभन्दा तल झरेको छ।  राष्ट्र बैंकको न्यूनतम ८ अर्बको पूँजी वृद्धि नीति ल्याएपछि बैंकको पूँजी बढेको अनुपातमा कर्जा प्रवाह तथा अन्य आम्दानीको वृद्धिदर कायम गर्न नसक्दा बैंकहरुको लगानीमा प्रतिफल वृद्धिद्धरको अवस्था खस्किएको हो।