तिब्र उतारचढापूर्ण बजारमा उत्पादन र होटलको सूचक सुधारिए, ८५ करोडको कारोबार

0
Shares

साताको पहिलो कारोबार दिन आइतबार उत्पादन तथा प्रशोधन र होटल उप सूचकमा उत्कृष्ट सुधार आएको छ । कारोबारमा आएका एघार उप सूचकमध्ये निर्जीबन बीमा र वित्तको सूचक सकारात्मक बन्दा बाँकी सातवटै उपसूचक एक प्रतिशत भन्दा तल झरेका छन् ।

कहिले बढ्ने त कहिले घट्ने क्रम चलेको बजारमा अन्त्यमा ३.०७ अंकको वृद्धिसँगै १२९५.०३ बिन्दुमा पुगेर नेप्से बन्द भएको छ । यस दिन १७१ कम्पनीको २६ लाख ७०हजार १४० कित्ता शेयर ८४ करोड ८१ लाख ३९ हजार रुपैयाँमा खरिद बिक्री भएको छ । गत बिहीबारको तुलनामा भने कारोबार ९ करोड ९२ लाख रुपैयाँले घटेको हो ।

आइतबार होटल समूहको सूचक सबैभन्दा धेरै ५.०१ प्रतिशत अर्थात १००.२४ अंकले बढेको छ भने उत्पादन तथा प्रशोधनमा ४.१५ प्रतिशत अर्थात ९८.७९ अंकको वृद्धि भयो। निर्जीवन बीमाको सूचकमा ७६.०४ अंक र वित्त समूहको सूचक ०.४१ अंकले सुधारिएको छ ।
यस दिन जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै १०.०३ अंकले घटेको छ । विकास बैंक ७.८५, जलविद्युत १.२१, लघुवित्त १.६, बैंकिङ्ग ०.५६ र अन्य समूहको सूचक ०.३१ अंकले ऋणात्मक भए।

आइतबार सानिमा बैंकको संस्थापक शेयर १६ करोड ४५ लाख रुपैयाँको कारोबार भएको छ । बैंकको ९ लाख १३ हजार ८३५ कित्ता संस्थापक शेयर खरिद बिक्री भएको हो। सगरमाथा इन्स्योरेन्स, शिवम् सिमेन्टस् र प्रिमियर इन्स्योरेन्सको ६ करोड भन्दा धेरै कारोबार भयो । ओरियन्टल होटल, नेपाल बैंक, सूर्या लाईफ, नेपाल इन्भेष्टमेन्ट बैंक, ग्लोबल आईएमई बैंक र एनआईसी एशिया बैंकको पनि दुई करोड बढीको शेयर खरिद बिक्री भएको छ।

शिवम् सिमेन्टस् र प्रिमियर इन्स्योरेन्सको शेयरमूल्य ९.८ प्रतिशतले बढेको छ भने ओरियण्टल होटल्स र नेपाल हाइड्र डेभलोपर कम्पनीको शेयर मूल्य पनि ८ प्रतिशत भन्दा धेरैले बढेको छ ।

यता सूर्योदय लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै अर्थात ७.२६ प्रतिशतले घटेको छ । नबिल इक्वीटी फण्ड, सिनर्जी पावर, र माउन्टेड हाइड्रोका शेयरधनीले ४ प्रतिशत भन्दा बढीले आइतबारको बजारबाट गुमाएका छन् ।