सरकारले खारेज गरेको विद्यालय युवाहरुको सक्रियतामा पुन: संचालनमा आएपछि नमूना बन्दै


सरकारले बन्द गरेको विद्यालय स्थानीय युवाहरुको सक्रियतामा पुन संचालनमा आएपछि नमूना विद्यालयको रुपमा परिणत हुन थालेको छ ।

पोखरा महानगरपालिका वडा नं १८ सराङकोट सिमतालमा रहेको सरस्वती प्राथमिक विद्यालय विद्यार्थी संख्या कम भएको भन्दै सरकारले ०७२ सालमा बन्द गरेको थियो । २६ बर्ष पुरानो विद्यालय एकाएक बन्द भएपछि त्यहाँका बालबालिकाहरु नीजि विद्यालयमा पढ्न बाध्य भएका थिए ।

तर, विद्यालय बन्द भएको दुईबर्ष पछि स्थानीय सराङकोट समाज सेवा युवा क्लबको सक्रियतामा विद्यालय पुन संचालनमा ल्याइएको हो । गुणस्तरीय जीवन नेपाल नामक संस्थाले सहयोग गरेपछि विद्यालयले पुर्नजिवन पाएको सराङकोट समाज सेवा युवा क्लबका अध्यक्ष विष्णु थापाले बताए । अहिले यो विद्यालय त्यस क्षेत्रकै नमूना विद्यालयको रुपमा परिणत भएपछि नीजि स्कूल छाडेर विधार्थीहरु यस विद्यालयमा भर्ना हुने क्रम बढेको उनको भनाई छ ।

युवाहरुको सक्रियता विद्यालय पुन संचालनमा आएपछि सरकारले एक शिक्षक समेत उपलब्ध गराएको छ । अहिले विद्यालयमा ३० भन्दा बढी विद्यार्र्थी रहेका छन् भने तीन जना शिक्षक शिक्षिका छन् ।

गुणस्तरीय जीवन नेपाल र युवा क्लबले विद्यालयको संचालन खर्च जुटाउदै आएको छ । सराङकोट क्षेत्रमा पाकिङ बाट उठेको रकमबाट क्लबले विद्यालय संचालन गर्दे आएको छ ।
यसैक्रममा क्लबले आइतबार उक्त विद्यालयका विधार्थीहरुलाई पाठ्य पुस्तक लगायत विभिन्न शैक्षिक सामाग्री उपलब्ध गराएको छ । अग्रेजी माध्यमबाट पढाई सुरु गरेको र विद्यालयमा नै खाजाको व्यवस्था समेत गरिएकाले पनि विद्यालयमा नयाँ विधार्थी आउनेक्रम बढेको प्रधानध्यापक नारायण तिमिल्सिनाले बताए ।