दैनिक अर्बौंको कारोबार हुन थालेपछि फेरि उठ्यो ब्रोकर कमिशन घटाउने माग, यसो भन्छन् सरोकारवाला

0
Shares

शेयर बजारमा दैनिक अर्बमाथिको कारोबार हुन थालेपछि धितोपत्र दलाल सदस्यहरुले शेयर खरीद बिक्रीमा लगानीकर्ताबाट लिँदै आएको शुल्क (ब्रोकर कमिशन) घटाउनुपर्ने आवाज उठ्न थालेको छ।

दैनिक १५/२० करोड रुपैयाँको शेयर कारोबार हुँदा कायम गरिएको कमिशन दर कारोबार बढेर दैनिक अर्बमाथि पुगेसँगै घटाइनुपर्ने आवाज उठ्न थालेको हो। नेपालका शेयर ब्रोकरको कमिशन दक्षिण एसियाका कतिपय देशहरुको तुलनामा पनि धेरै भएकाले घटाउनुपर्ने जानकारहरु बताउँछन्।

यसअघि मुद्रा तथा पूँजीबजार सम्बन्धि अध्ययन गर्न गठित सरकारी कार्यदलले पनि अनलाईन शेयर कारोबार सुरु भैसकेको परिप्रेक्ष्यमा विद्यमान ब्रोकर कमिसन घटाउन सुझाव दिएको थियो।

अर्थ मन्त्रालयले डेपुटी गभर्नर शिवराज श्रेष्ठको नेतृत्वमा गठन गरेको अध्ययन समितिले २०७५ साल पुसमा गरेको सिफारिसको ३४ नम्बर बुँदामा एक महिना भित्र अनलाईन प्रणालीलाई बैंक खाता र सीडीएससी प्रणालीमा आबद्ध गर्ने र त्यसपछि ब्रोकर कमिशन पुनरावलोकन गर्ने कुरा उल्लेख गरिएपनि सो कार्यान्वयवमा आउन सकेको छैन।

यसअघि २०७३ साउनमा पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको प्रस्तावमा अर्थ मन्त्रालयले धितोपत्र व्यवसायी (स्टक ब्रोकर) नियमावली संशोधन गरेर शेयर कारोबार गर्दा ब्रोकर (दलाल) लाई तिर्नुपर्ने कमिशन ३५ प्रतिशतले घटाएको थियो। त्यसयता सोही शुल्क कायम रहँदै आएको छ।

हालसम्म शेयर बजारमा सानो कारोबार हुँदै आएकोमा ब्रोकर कम्पनीहरुको हाल लिँदै आएको शुल्क मनासिब भएपनि अब त्यसलाई घटाउनुपर्ने आवाज लगानीकर्ताले नै उठाउन थालेका छन्। हाल ब्रोकर कम्पनीहरुले शेयर खरीद बिक्री वापत न्यूनतम ०.४० प्रतिशतदेखि ०.६० प्रतिशतसम्म कमिसन लिँदै आएका छन्।

हाल ५० हजार रुपैयाँसम्म शेयर कारोबार गर्ने लगानीकर्ताले ०.६० प्रतिशत तथा ५० हजारभन्दा माथि ५ लाख रुपैयाँसम्मको कारोबार गर्नेले ०.५५ प्रतिशतका दरले कमिशन तिर्नुपर्छ।

यसैगरि ५ लाख रुपैयाँदेखि २० लाखसम्मको कारोबार गर्नेले ०.५० प्रतिशत, २० लाखदेखि १ करोड रुपैयाँसम्म कारोबार गर्नेले ०.४५ प्रतिशत र १ करोड रुपैयाँ भन्दा माथिको कारोबार गर्नेले भने ०.४० प्रतिशतका दरले कमिशन तिर्नुपर्ने व्यवस्था रहेको छ। यसैगरि असुली हुने कुल ब्रोकर कमिसनको २० प्रतिशत रकम नेप्से र ०.६ प्रतिशत धितोपत्र बोर्डलाई जाने गरेको छ।

  • के भन्छ नियामक निकाय धितोपत्र बोर्ड ?

नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरी शेयर कारोबारको आकार बढ्दै जाँदा ब्रोकरको कमिसन मात्र नभई नियामक निकायले पाउने शुल्क समेत घटाउनुपर्ने बताउँछन्।

अहिले बजार हेर्दा केहीदिन ठूलो रकमको कारोबार भैरहेको छ। बुलिस बजारमा कारोबार बढ्नु स्वभाविक हो, तर कति टिकाउ रहन्छ भन्ने अध्ययन गर्न पनि जरुरी छ।

‘अहिले कारोबारको आकार बढ्यो भन्दैमा तत्कालै कमिसन घटाइहाल्नुपर्छ भन्ने देखिँदैन। यसै किसिमले बजारमा नियमित कारोबार भैरहने हो भने सबैको शुल्क घटाउनुपर्छ भन्ने हाम्रो मान्यता हो।’ उनले भने।

 

  • लगानीकर्ता भन्छन् ०.२५ प्रतिशतमा झार्नुपर्छ

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले हाल कायम रहेको ब्रोकर कमिसन ०.२५ प्रतिशतमा झार्नुपर्ने बताए। रौनियारले भने, विद्यमान कमिसनदर महङ्गो भएको लगानीकर्ता, ब्रोकर र नियामक निकाय सबैलाई थाहा छ।

ब्रोकर कमिसन घटाउनका लागि भनेर कमिटी गठन गर्न पाँचवटै लगानीकर्ता संगठन र नियामक निकायबीच कुरा उठेपनि अहिलेसम्म सो काम अगाडि बढ्न सकेको छैन।

 

  • दीर्घकालीन अवस्थालाई विचार गरेर मात्र घटाउनुपर्छ: ब्रोकर

शेयर ब्रोकर एसोसियसनका अध्यक्ष भरत रानाभाटले अहिले तीन चार दिनको कारोबारलाई आधार मानेर तत्कालै ब्रोकर कमिसन घटाइहाल्नुपर्छ भन्ने कुरा त्यति जायज नहुने बताए।

उनले भने:- कुनैपनि नीतिगत निर्णय गर्दा तत्कालिन अवस्थालाई मात्र नभई दीर्घकालीन सोच राखेर गर्नुपर्ने हुन्छ।

हिजो तीन चार वर्षसम्म ब्रोकरहरुले घाटामा कम्पनी चलाएकै हुन्। अहिले अलिअलि कारोबार बढ्यो भन्दैमा कमिसन घटाउने कुरा हतारो हुन्छ। भोलिका दिनमा यसैगरि निरन्तर उच्च कारोबार भैरह्यो भने कमिसन घटाउन सकिन्छ।