लघुवित्तको शेयरमूल्य घट्ने क्रम रोकिएन, १४ कम्पनीमा नकारात्मक सर्किट

0
Shares

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको असरबाट घट्न थालेको लघुवित्त कम्पनीहरुको शेयरमूल्यमा चलेको पहिरोले बुधबार पनि निरन्तरता पाएको छ।

सो नीतिको सोझो असर फागुन २० गतेपछि २१ गते बुधबारको शेयर बजारमा लघुवित्तको शेयरमूल्यमा पनि परेको छ। बुधबार १४ लघुवित्त कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ।

नेपाल राष्ट्र बैंकले सोमबार साँझ सार्वजनिक गरेको अर्धवार्षिक समीक्षामा २० प्रतिशतभन्दा धेरै लाभांश वितरण गर्दा लघुवित्त कम्पनीहरुलाई थप कडाई गर्दै सो भन्दा बढी लाभांश वितरण गर्ने यसरी वितरण गर्ने लाभांश रकमको थप २५ प्रतिशत रकम सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरेको थियो।

यसअघि २० प्रतिशतभन्दा बढी लाभांश वितरण गर्ने लघुवित्तले खुद नाफाको १ प्रतिशत रकम ग्राहक संरक्षण कोषमा र २५ प्रतिशत रकम ग्राहक संरक्षण कोषमा व्यवस्था गर्दै आएका थिए।

चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा मार्फत केन्द्रीय बैंकले लघुवित्त वित्तीय संस्थाहरुले वितरण गर्ने लाभांश (नगद वा बोनस शेयर) सम्बन्धी विद्यमान व्यवस्थामा परिमार्जन गर्दै २० प्रतिशत भन्दा बढी लाभांश घोषणा गर्ने वित्तीय संस्थाले २० प्रतिशतभन्दा बढी लाभांशको ५० प्रतिशतले हुन आउने रकममध्ये ग्राहक संरक्षण कोषमा २५ प्रतिशत र सामाजिक उत्तरदायित्व कोषमा थप २५ प्रतिशत जम्मा गर्नुपर्ने व्यवस्था गरेको हो।

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत ५० वटा लघुवित्त कम्पनीमध्ये मंगलबारको बजारमा ३२ कम्पनीको शेयरमूल्य घटेको छ। भने शिर्ष शेयरमूल्य घट्ने १४ कम्पनीमा नकारात्मक सर्किट लागेको हो। मंगलबार पनि ३५ कम्पनीको शेयरमूल्य घटेको थियो।

मंगलबार कूल ३४ वटा कम्पनीको शेयर कारोबारमा आएकोमा नेशनल माइक्रोफाइनान्स, नेपाल सेवा, स्वदेशी, कालिका लघुवित्त, स्पर्स लघुवित्त, सिभिल लघुवित्त, फरवार्ड लघुवित्त, घोडीघोडा लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त, फस्ट माईक्रोफाइनान्स, गणपति माइक्रोफाइनान्स, एनएमबि, माइक्रोफाइनान्स, आरएमडिसी लघुवित्त, ग्रामीण विकास लघुवित्त, र नेरुडे लघुवित्त गरि १४ कम्पनीको शेयरमूल्य ९ प्रतिशत बढीले ओरालो लागेको हो।

यसदिन सामुदायिक लघुवित्तको शेयरमूल्य ५.१७ प्रतिशतले बढेको छ भने स्वरोजगार लघुवित्तको शेयरमूल्य पनि १.६२ प्रतिशतले बढेको छ। एक दर्जन बढी लघुवित्त कम्पनीहरु मर्जर प्रकृयामा रहेकाले ती कम्पनीको भने दोस्रो बजारमा शेयर कारोबार रोक्का रहेकाले नियमित कारोबारमा रहेका छैनन्।

अधिकांश लघुवित्तको शेयरमूल्य घटेसँगै मंगलबार लघुवित्त कम्पनीहरुको उपसूचक सबैभन्दा बढी ६.१६ प्रतिशत अर्थात १४८.२५ अंकले घटेर २ हजार २५७.०२ बिन्दुमा झरेको छ। बाँकी ११ वटै उपसमूहका सूचक पनि यसदिन ऋणात्मक रहे।

बुधबारको बजारमा कूल १७४ कम्पनीको शेयर कारोबारमा आएकोमा १५९ कम्पनीको शेयरमूल्य घटेको छ । ९ कम्पनीको मात्र शेयरमूल्य बढेको छ। बुधबार नेप्से सूचक ५.५४ प्रतिशत अर्थात ६८.४७ अंकले घटेर १ हजार ४४१.२० अंकमा झरेको छ। यसदिन बजारमा १७४ कम्पनीको २ अर्ब ९० करोड बढीको शेयर किनबेच भएको छ ।