कारोना संक्रमण रोक्न शिक्षण संस्था बन्द गर्ने धनगढी उपमहानगरपालिकाको निर्णय

0
Shares

कैलालीको धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित सामुदायिक–संस्थागत विद्यालयको पठनपाठनलगायत आन्तरिक परीक्षा बन्द गर्ने निर्णय गरेको छ ।

विश्वका अधिकांश देशमा महामारीको रुपमा फैलिँदै गइरहेको कोरोना भाइरस (कोभिड १९) को कारण उपमहानगरपालिकाले एक प्रेस विज्ञप्ति जारी गर्दै यही फागुन २५ गतेदेखि लागू हुने गरी विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

उपमहानगरपालिकामा बसेको सरोकारवालाको बैठकले उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक, संस्थागत शिक्षण संस्थामा आधारभूत तथा विद्यालयका आन्तरिक परीक्षालगायत पठनपाठनका सम्पूर्ण क्रियाकलाप अर्को सूचना जारी नभएसम्म बन्द गर्ने निर्णय गरेको नगरप्रमुख नृपबहादुर वडले जानकारी दिए।

उहाँले कोरोनाको सङ्क्रमण छिटोभन्दा छिटो मानिसमा फैलिने गम्भीर प्रकृतिको रोग भएकाले यसको संवेदनशीलताबाट जोगिन सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको बताए । उपमहानगरपालिकाभित्र वार्षिकोत्सव, भेला, सभा, सम्मेलन, महोत्सव, उत्सवका साथै मानिसको भीडभाडमा गरिने किसिमका कुनै पनि कार्यक्रम आयोजना नगर्न अनुरोध गरिएको छ ।

प्रकाशित मिति: २४ फागुन २०७६, शनिबार  १३ : ४३ बजे