१७ हजार फर्म नवीकरण विहीन

0
Shares

नेपालगञ्जमा रहेका वाणिज्य तथा व्यवसायी फर्ममध्ये १७ हजार बढी फर्म अहिले पनि कानूनी मापदण्डभन्दा बाहिर गएका छन् । वाणिज्य कार्यालय नेपालगञ्जअन्तर्गत रहेका ३२ हजार फर्ममध्ये १७ हजार बढी फर्मले नियमित नवीकरणसमेत नगर्दा ती फर्म मापदण्ड बाहिर देखिएका हुन्।

कार्यालयले समयमै नवीकरण नगरेका र दर्ता नभएका तीन हजार फर्म खारेज गरेको वाणिज्य कार्यालय नेपालगञ्जका प्रमुख कृष्ण पौडेल बताउँछन्। उनका अनुसार २०७४ वैशाखदेखि असार मसान्तसम्ममा एक हजार ६०४ ले फर्म नवीकरण गरेका थिए। त्यसपछि कुनै पनि फर्मले नवीकरण नगरेको पौडेलले बताए।

वाणिज्य कार्यालयका प्रमुख पौडेलका अनुसार अहिले २९ हजार फर्म छन्। लामो समयदेखि नवीकरण नभएका फर्मका कारण नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको राजश्व सङ्कलनमा समेत गिरावट आएको छ भने फर्म नवीकरण नगरिएका व्यवसायी सङ्घबाट प्राप्त हुने सेवा सुविधाबाट वञ्चित भएका छन्।

नवीकरण हुन नसकेका फर्मलाई नवीकरण गर्न शुक्रबारबाट उद्योग वाणिज्य सङ्घले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जमा सहायता कक्ष हेल्प डेस्क राखेको छ । संङ्घका महासचिव चिरञ्जीवी ओलीका अनुसार सरकारले नवीकरण खुला गरेपछि वाणिज्य कार्यालयमा बढी भीड हुने भएकाले संरक्षण कार्यालयमा हेल्प डेस्क राखिएको हो।

हेल्प डेस्कमा सङ्घले आफ्ना कर्मचारी खटाएको छ। उनले भने, “सरकारले नवीकरण खुलाएर, नवीकरणबाट वञ्चित यहाँका १७ हजार व्यवसायीलाई राहत महसुस गराएको छ। यो कार्य अबदेखि नियमित हुनुपर्छ । व्यवसायीले पनि आफ्नो फर्म नवीकरण गरी सरकारी मापदण्ड पूरा गर्नेतर्फ बेलैमा अध्ययन पु¥याउन जरुरी छ।”

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्राइभेट फर्म रजिष्ट्रेशन १२ औँ संशोधन नियमावली, २०७६ मार्फत नवीकरणको म्याद गुजारेका उद्योगी, व्यवसायीलाई फर्म नवीकरणको व्यवस्था मिलाइएको हो। नयाँ व्यवस्थाअनुसार, फर्म नवीकरण गराउन नसकेका व्यवसायीले त्यसको कारण खुलाई २०७७ असार मसान्तभित्र नवीकरण गराउन पाउने छन्।

प्रकाशित मिति: २४ फागुन २०७६, शनिबार  १४ : ३८ बजे