व्यवसाय गर्न भारतबाट १६ करोड अन्य देशबाट १० लाख डलर व्यक्तिगत ऋण पाइने

0
Shares

नेपाली नागरिक, फर्म तथा संस्थाले व्यवसाय संचालन वा विस्तार गर्न विदेशबाट कर्जा लिन पाउने भएका छन्। केन्द्रीय बैंकले भारत तथा अन्य मुलुकबाट कर्जा ल्याउन पाउने व्यवस्था गरेको छ।

विदेशबाट कर्जा लिन चाहाने नागरिक, फर्म तथा संस्थाले केन्द्रीय बैंकको पूर्व स्वीकृति लिई विदेशमा रहेका आफन्त, गैर आवासीय नेपाली तथा अन्य व्यक्ति तथा संघ संस्थाबाट ऋण ल्याउन सक्ने व्यवस्था गरेको हो।

राष्ट्र बैंकका अनुसार भारतबाट भा.रु. १० करोडसम्म र अन्य मुलुकबाट अमेरिकी डलर १० लाखसम्म कम्तिमा ३ वर्ष अवधिको लागि सहुलियतपूर्ण व्याज वा विना ब्याजमा ऋण/सापटी लिन पाउने व्यवस्था गरिएको छ।

बैंक तथा वित्तीय संस्थाले विदेशी संस्थाहरु तथा गैर आवासीय नेपालीहरुबाट निक्षेप संकलन गर्न सक्ने व्यवस्थामा पुनरावलोकन गरी दायरा थप फराकिलो बनाइने व्यवस्था समेत अर्धवार्षिक समीक्षा मार्फत गरेको थियो। जसलाई कार्यन्वयनमा ल्याउन राष्ट्र बैंकले परिपत्र गरेको छ।

विदेशबाट ऋण ल्याउने नागरिक तथा फर्म तथा संस्थाले ऋण ल्याउनको कारण र उपयोगको बारेमा राष्ट्र बैंकमा जानकारी दिनुपर्नेछ। यसरी ल्याउने ऋणको ब्याजदर एक वर्षको लागि लिबोर रेटमा ०.५ प्रतिशतसम्म हुनुपर्नेछ। ऋण औपचारिक बैंकिङ माध्यमबाट भित्राउनुपर्नेछ भने ऋण तिर्ने आधार निवेदन साथै पेश गर्नुपर्नेछ।

विदेशबाट ऋण ल्याउने नागरिक, फर्म तथा सस्ंथाले मकानून अनुसार तोकेको क्षेत्रमा मात्र लगानी गर्न पाउनेछन्। राष्ट्र बैंकका अनुसार यसरी ल्याएको ऋण शेयर बजार र घरजग्गामा उपयोग गर्न नपाइने राष्ट्र बैंकले प्रष्ट पारेको छ।