लघु बीमामा जोड दिदै अर्थमन्त्रीले बीमा कम्पनीहरुलाई भने, ‘ मर्जरमा जानुस्, प्याकेज डिल बन्द गर्नुस् ‘

0
Shares

अर्थमन्त्री डा. युवराज खतिवडाले लघु बिमा कार्यत्रमलाई विस्तार गर्नुपर्नेमा जोड दिँदै बीमा कम्पनीहरुलाई मर्जरमा जान सुझाब दिएका छन् ।

बीमा समितिको ५१औँ वार्षिकोत्सवमा मन्त्री खतिवडाले वित्तिय उपकरणलाई उत्पादनसँग जोड्न लघु बीमालाई प्रोत्साहन गर्न जरुरी रहेको बताए । साथै उनले बीमा कम्पनीहरुलाई संख्यात्मक भन्दा गुणात्मक रुपमा अघि बढ्न सुझाएका छन् ।

खतिवडाले बीमा कम्पनीको संख्या धेरै भएको बताउँदै मर्जरमा जान सुझाब समेत दिएका छन् । खतिवडाले भने, ‘बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा गएर सुदृढ र सबल भएका छन, बीमामा पनि संख्या बढी भयो । मर्जरमा गएर सुदृढ र सबल बन्नु आवश्यक छ ।’  त्यस्तै, अरुको सुरक्षा गर्ने बीमा कम्पनीहरु आफैं सुरक्षित हुनुपर्नेमा समेत उनले जोड दिए ।

त्यस्तै मन्त्री खतिवडाले लघु बीमालाई विस्तार गर्नको लागि जोड दिन आग्रह गरे । उनले लघुबीमामा गरिने लगानी १० प्रतिशत पुर्यांउन पनि सुझाव दिएका छन् ।

साथै उनले बैंक र बीमा कम्पनीहरुले संचालन गरिरहेको बैंकाइन्स्योरेन्स सेवा प्रति लक्षित गर्दे “बैंक र बीमा कम्पनीबीच प्याकेजमा डिल गर्ने काम गर्न नहुने बताए । उनले भन,’ बैंकले बीमा कम्पनीको बिमालेख बेचिदिने र त्यस वापत बीमा कम्पनीले बैंकमा निक्षेप राख्ने यस्ता गतिविधि सकारात्मक होइनन् ।’ 

“हामी नियामक निकाय हौँ, हाम्रो ध्यान चारैतिर हुन्छ, त्यस्तो कामले अर्थतन्त्रलाई राम्रो गर्दैन, यस्तो गर्नुहुँदैन”, मन्त्री खतिवडाले भने । जोखिम बहन गर्ने बीमा कम्पनी आफै जोखिममा पर्ने देखिएकाले उनले कानूनसम्मत रुपमा ध्यान दिन बीमा कम्पनीहरुलाई आग्रह गरे ।

कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईँले नेपालमा बिमा बजारमा सकारात्मक असर परेको भन्दै बीमा शुल्कमा समेत वृद्धि भइरहेको जानकारी दिए ।

सर्वसाधारणमा बीमाप्रतिको विश्वास बढ्दै गएको भन्दै उनले २०७५ सालको शुरुआतमा १० प्रतिशतमा सिमित रहेको बीमाको पहुँच फागुन मसान्तसम्म आइपुग्दा १८ प्रतिशतमा पुगेको बताए

चालू आर्थिक वर्षको अन्त्य सम्ममा २० प्रतिशत पुग्ने अनुमान रहेको चापागाईंले बताए । उनले अहिले कूल गार्हस्थ उत्पादनमा बीमाले तीन प्रतिशत योगदान दिएको र यो बढ्दै गएको बताए ।