सिटिजन्स बैंकको ऋणपत्रमा आजसम्म आवेदन दिन सकिने, १०.२५% ब्याजदर त्रैमासिक भुक्तानी हुने

0
Shares

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड (CZBIL) ले फागुन २० गतेदेखि जारी गरेको २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्रमा आज कार्यालय समयसम्म मात्र आवेदन दिन पाइनेछ।

इच्छुक लगानीकर्ताले मेरो शेयर तथा नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुबाट मंगलबार कार्यालय समयभित्र आवेदन दिन सक्नेछन्।

दश वर्ष अवधिको “१०.२५% सिटिजन्स बैंक ऋणपत्र २०८६” मा लगानी गर्ने लगानीकर्ताले वार्षिक १०.२५ प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको त्रैमास समाप्त भएपश्चात ३/३ महिनामा ब्याज प्राप्त गर्नेछन्।

बैंकले निष्काशन गर्न लागेको ऋणपत्रलाई इक्रा रेटिङ्ग नेपालले इक्रा एनपी एल त्रिपल बी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले बैंकको ऋणपत्रमा मध्यम कर्जा जोखिम भएको सङ्केत गर्दछ।

बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। जसमध्ये १ अर्ब ५० करोड रुपैयाँबराबरको १५ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणका लागि बिक्री खसाल गरिएको थियो।

सर्वसाधारणका लागि निष्काशन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ९ लाख ७० हजार कित्ताका लागि आवेदन दिन सक्न ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ ।

बैंकले हाल ८९ वटा शाखा, ९० वटा एटिएम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख सेवाग्राहीलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति: ४ चैत २०७६, मंगलबार  ०८ : २६ बजे