अर्थ मन्त्रालय भन्छ, ‘शेयर कारोबार बन्द गर्न भनिएको छैन’

0
Shares

गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्दै कोरोना भाइरसको संक्रमण, नियन्त्रण र रोकाथामका लागि अति आवश्यक बाहेकका सबै क्षेत्र बन्द गर्ने घोषणा गरे ।

सो पश्चात सोही बिषयलाई लिएर शेयर लगानीकर्ताका संगठनहरु, ब्रोकर एशोसियसनले आइतबार शेयर बजार बन्द हुने प्रचारबाजीमा लागेका थिए। तर, आइतबार बिहान धितोपत्र बोर्डबाट बजार बन्द गर्नका लागि कुनै निर्देशन प्राप्त नभएको भन्दै नेप्सेले बजार सुचारु गरायो । बजार सुचारु गराउनु शेयर बजारको फ्रन्र्ट लाइन रेगुलेटरको हिसाबले नेप्सेको दायित्व पनि थियो।

बजार खुल्नु अगावै शेयर लगानीकर्ताहरु बजार बन्द गर्नुपर्ने माग राख्दै नेप्से पुगेका थिए। यसअघि शेयर लगानीकर्ता र ब्रोकरहरुले शेयर बजार बन्द गर्नुपर्ने माग प्रधानमन्त्रीको सम्बोधन आउनु अगाडि नै धितोपत्र बोर्डमा शुक्रबार नै राखिसकेका थिए ।

धितोपत्र बजारको प्रमुख नियामक निकाय धितोपत्र बोर्ड मौन बस्दा नेप्से आइतबारको बजार खोल्ने निष्कर्षमा पुग्यो । नेप्सेले बोर्डबाट बजार बन्द गर्न कुनै निर्देशन प्राप्त नभएको जिकिर गर्दै आएको छ,तर बोर्डका उच्च अधिकारीहरुकै फरक फरक धारणा विभिन्न संचारमाध्यममा आइरहे ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुंगानाले प्रधानमन्त्रीले घोषणा गरेको निर्देशन विपरित कसको स्वार्थमा बजार खुला गरिएको भन्ने प्रकारको प्रतिक्रिया संचारमाध्यममा दिएका छन् । बोर्डकै अन्य अधिकारीहरुले शेयर बजार बन्द गर्नुपर्छ भन्ने निर्देशन कतैबाट नभएको बताएका छन् । यता नेप्सेले बोर्डबाट पनि कुनै निर्देशन नआएकाले बजार नियमित रुपमा संचालन गरेको बताएको छ ।

के भन्छ अर्थमन्त्रालय ?

धितोपत्र बोर्ड, नेप्से, ब्रोकर र लगानीकर्ताहरुबीच जुहारी चल्दै गर्दा अर्थमन्त्रालयले भने शेयर बजारको विषयमा निर्णय गर्ने जिम्मेवार निकाय धितोपत्र बोर्ड नै भएको प्रष्ट पारेको छ ।

मन्त्रालयका एक अधिकारीले नोटबजारसँग कुरा गदै भने, अधिकार प्राप्त व्यक्तीले निर्णय गर्ने कुरा हो, सबै कुरामा अर्थ मन्त्रालयको मुख ताकेर हुँदैन, अर्थ मन्त्रालयले बजार बन्द गर्नु भनेको छैन ।

अर्थ मन्त्रालयका ति अधिकारीले कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि गठित उच्चस्तरीय समितिको शनिबारको बैठकले प्रधानमन्त्रीले गत शुक्रबार गरेको घोषणाको व्याख्या गर्दे वित्तीय सेवा प्रदायक संस्थाहरु बन्द नहुने निर्णय समेत गरेको बताए । उनले भने ‘शेयर बजार वित्तीय सेवा भित्र पर्छ कि पर्दैन, त्यो नियामकले जान्ने कुरा हो।’

साथै उनले अन्तर्राष्ट्रिय अभ्यासहरुलाई हेरेर पनि बजार खोल्ने नखोल्ने विषयमा निर्णय गर्नुपर्ने बताउँदै आइतबार साँझ अर्थ मन्त्रालयमा धितोपत्र बोर्ड, नेप्से लगायतका शेयर बजारसँग सरोकार राख्ने निकायहरुलाई छलफलमा बोलाईएको समेत जानकारी दिए ।

धितोपत्र बोर्डलाई अधिकतम एक साताको लागि कारोबार रोक्का गर्ने अधिकार छ। त्यसभन्दा धेरै दिनको लागि कारोबार रोक्का गर्नु परेमा मात्र मन्त्रालयको निर्देशन आवश्यक पर्छ।

अर्थ मन्त्रालय भने शेयर कारोबार बन्द गर्ने पक्षमा देखिएको छैन् ।