राष्ट्र बैंकले दुई अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

0
Shares

नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको १ अर्ब ९५ करोड १२ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुमा उक्त रकम १ वर्षे (२०७७ बैशाख २ गतेदेखि २०७८ बैशाख १ गतेसम्म) अवधिको लागि मुद्दती निक्षेपमा राख्ने भएको हो।

जसअनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब ५६ करोड ११ लाख ‘ख’ वर्गका विकास बैंकहरुमा २९ करोड २६ लाख र ‘ग’ वर्गका फाइनान्स कम्पनीहरुमा ९ करोड ७५ लाख रुपैयाँ लगानी गर्न लागेको हो।

निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले चैत १४ गतेसम्ममा बोलकबोल पेश गनुपर्ने उल्लेख गरिएको छ। जसमा बैंक तथा वित्तीय संस्थाले लिन चाहेको रकम, मासिक रुपमा भुक्तानी गर्ने ब्याजदर उल्लेख गर्नुपर्नेछ।

यसैगरि बैंकले ११ वटा शर्तहरु पूरा गरेको हुनुपर्ने जनाएको छ। यस्तो शर्तमा सञ्चालनमा आएको कम्तिमा दुई वर्ष पूरा गरेको, राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजीकोष,खराब कर्जा कुल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने उल्लेख छ।

यसैगरि कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको हुनुपर्ने, शीघ्र सुधारात्मक कारवाही र समस्याग्रस्तमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने, सर्वसाधारणको लागि छुट्याईएको शेयर जारी गरिसकेको हुनुपर्ने जस्ता शर्तहरु तोकिएको छन्।

प्रकाशित मिति: १० चैत २०७६, सोमबार  १८ : ५५ बजे