निको भएकालाई कोरोना फेरि लाग्न सक्छ !

0
Shares

कारोना भाइरसबाट विश्वभर १ लाख १३ हजारभन्दा बढी उपचारपछि निको भए। तर फेरि पछि तिनमा संक्रमण पाइयो। सामान्यतया साधारण रुघाजस्तै कोरोना एकचोटि संक्रमण भए प्रतिरोधी क्षमता बढ्छ।

वैज्ञानिकहरूले अनौठो मानेको कुरा चाहिँ के हो भने निको भइसकेका बिरामीहरूमा यसरी पुनः संक्रमण निकै चाँडो अवधिमा पाइएको छ।

सत्तरी वर्ष नाघेका एक पुरुष बिरामी चिकित्सकहरूसामु अनौठो र चिन्ताजनक यस्तै उदाहरण बने। ती व्यक्तिलाई कोरोना संक्रमण पाइएपछि टोक्योको अस्पतालमा आइसोलेशनमा राखिएको थियो।

जापानी समाचार प्रसारक एनएचकेका अनुसार ती निको भए र सामान्य जीवनमा फर्किए। उनले सार्वजनिक यातायात पनि प्रयोग गरे। केही दिनपछि पुनस् बिरामी भए र उनलाई ज्वरो आयो।

ती पुरुष अस्पताल फर्किए। त्यहाँ उनलाई फेरि उक्त भाइरसको संक्रमण भएको पाइयो।

स्पेनका जैविक प्रविधिसम्बन्धी राष्ट्रिय केन्द्रका भाइरोलजिस्ट लुई इन्वानेस भन्छन्, ‘कम्तीमा १४ प्रतिशत बिरामीमा पुनः कोरोना भएको पाइएको छ।’

उनको विश्वासमा यो फेरि संक्रमण भएको नभई पुरानै भाइरस फेरि बल्झिएको हो। ‘मेरो विचारमा यो भाइरसको पनि मानिसमा प्रतिरोधी क्षमता त जन्मन्छ तर कतिपयमा भने प्रतिरोधी क्षमता सशक्त नहुन सक्छ,’उनले भने,‘जब प्रतिरोधी क्षमता खस्किन्छ तब शरीरमा रहेका भाइरस फेरि बल्झन्छन्।’

मड्रिडस्थित कार्लोस तृतीय स्वास्थ्य प्रतिष्ठानका अनुसन्धाता इसिडोरो मार्टिनेज पनि कोरोनाभाइरसको पुनः संक्रमण हुन सक्ने भए पनि कोरोनाको पुनः संक्रमण चाँडो भएकोमा अनौठो मान्छन्।

‘यदि लामो समयसम्म प्रतिरोधी क्षमता नरहने हो भने एक दुईवर्षपछि आउने अर्को महामारीमा फेरि संक्रमिण भइन्छ। त्यो सामान्य हो,’मार्टिनेजले बताए।

तर निको भएलगत्तै फेरि त्यही भाइरसबाट संक्रमिण भइहाल्नु भनेको अनौठो हो। अहिलेसम्म हामीले बुझेअनुसार यो कोरोनाभाइरस फ्लूको भाइरस जति परिवर्तित भइरहँदैन,’उनले भने।

उनका अनुसार सम्भवतः के भइरहेको हुन सक्छ भने जो व्यक्ति कोरोनाबाट निको भएका छन् तिनमा फेरि बाँकी रहेका भाइरसको अस्थायी वृद्धि भएको छ।

तर दुवै अनुसन्धानकर्ताहरूले कोरोनाबारे जान्न थप अनुसन्धान आवश्यक रहेको बताए।

‘यो कोरोना नयाँ भाइरस हो जसका बारे हामी हरेक दिन नयाँ कुरा थाहा पाइरहेका छौँ,’प्यान अमेरिकन हेल्थ अर्गनाइजेशनले बीबीसीलाई भन्यो, त्यसैले पुनःसंक्रमण बारे पनि अहिले नै यही हो भन्न सकिँदैन।’

तर विज्ञानले सरकारहरूलाई के कस्ता जनस्वास्थ्यका उपाय अपनाउनु सही हुन्छ भन्ने बारे सघाउन यथासम्भव उत्तर खोजिरहेको छ।