सरकारले पूँजी बजारका लागि घोषणा गर्यो यस्ता राहत प्याकेज


कोरो भाइरसको संक्रमणका कारण अर्थतन्त्र अस्थिर बनिरहेका बेला सरकारले शेयर बजारलाई पनि राहत उपलब्ध गराउने घोषणा गरेको छ ।

शेयर बजार सञ्चालन हुन नसकिरहेको तथा विगतमा केही दिन देखिएको अन्यौलतालाई सम्बोधन गर्दै सरकारले लगानीकर्ता र सूचीकृत कम्पनीलाई सहज हुनेगरी राहत घोषणा गरेको हो ।

आइतबार बसेको मन्त्री परिषदको बैठकले शेयर बजारका लगानीकर्ताका साथै सम्बद्ध पक्षलाई कोरोनाको असरबाट उत्पन्न परिस्थितीमा राहतका कार्यक्रमहरु ल्याउने निर्णय भएको हो ।

अर्थ मन्त्रालयका सहसचिव एवं सूचना अधिकारी उत्तरकुमार खत्रीका अनुसार मन्त्री परिषदले शेयर बजारमा देखिएको राफसाफको समस्या र सूचीकृत कम्पनीहरुले बुझाउनु पर्ने विबरण तथा सूचनाहरुमा सहज वाताबरण बनाउने निर्णय मन्त्री परिषदको बैठकले गरेको छ ।

यस अवधिमा सूचीकृत कम्पनीहरुले कुनै पनि किसिमको बिलम्ब वा जरिवाना शुल्क तिर्नु नपर्ने व्यवस्था गरिएको खत्रीले जानकारी दिए ।

नोटबजारसँग कुरा गर्दै सहसचिव खत्रीले भने ‘मन्त्रीपरिषद बैठकबाट राफसाफ हुन बाँकी रहेका कारोबारलाई चैत मसान्तसम्ममा गर्न सकिने व्यवस्था भएको छ । त्यसै गरी धितोपत्र ऐनले गरेको व्यवस्था अनुसार सूचीकृत कम्पनीहरुले बुझाउनु पर्ने विबरण पनि चैत मसान्तसम्ममा बुझाउन सकिने व्यवस्था मन्त्रीपरिषद बैठकबाट भएको छ ।’