भारतमा रेलका पाँच हजार डब्बालाई आईसोलेशन कक्षमा रुपान्तरण गरिँदै


कोरोना भाइरसको संक्रमण बढ्दै गए पछि भारतमा रेलका ५ हजार डब्बालाई आईसोलेशन कक्षमा रुपान्तरण गर्न थालिएको छ ।

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि एकान्त ठाउँमा संक्रमितहरुलाई राख्ने योजना बनाउँदै भारतीय रेल्वे विभागले रेलका डब्बालाई उपचार कक्षमा परिणत गर्न थालेको हो ।


विभागले २० हजार डब्बालाई क्वारेन्टाइन तथा आईसोलेशन कक्षमा रुपान्तरण गर्ने घोषणा गरेको थियो । सोही अनुसार पहिलो चरणमा ५ हजार वटा रेलका डिब्बालाई सुविधासम्पन्न क्वारेन्टाइन कक्षमा रपान्तरण गर्न थालिएको हो ।


रेल अस्पतालका रुपमा अघि सारिएको अवधारणले कोरोना संक्रमण फैलिनबाट नियन्त्रण गर्ने विश्वास लिइएको छ । सबै रेल अस्पतालहरुमा उपचारका लागि आवश्यक पर्ने उपकरणहरु जडान गर्ने क्रमलाई तिब्र बनाइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।


अस्पतालमा रुपान्तरण गरिएका सबै रेलका सबै डब्बाहरुमा अत्यावश्यकीय वस्तु तथा सेवा राख्ने काम भैरहेको छ । यसका लागि अतिरिक्त डाक्टर तथा स्वास्थ्यकर्मीहरुलाई परिचालन गरिएको छ । भारतीय रेल्वेका महाप्रबन्धक तथा स्वास्थ्यकर्मीहरुको प्रत्यक्ष निगरानीमा रेलका डब्बाहरुलाई रेल अस्पतालमा रुपान्तरण गर्ने काम भैरहेको छ ।


रेल अस्पतालमा कोरोना संक्रमितको संख्या बढ्न सक्ने भन्दै ६ हजार ५०० वटा बेड तयार पारिँदैछ । सुरुवाती चरणमा आसाम राज्यको कामख्या तथा भारतको राजधानी नयाँ दिल्लीमा डब्बालाई आइसोलेशन कक्षमा रुपान्तरण गरिएको छ । रेल विभागले मातहतका निकायहरुलाई रेलका डब्बालाई आईसोलेशन कक्षमा रपान्तरण गरी अत्यावश्यकीय सेवा समेत राख्नका लागि निर्देशन दिइसकेको छ ।


बुधबार बिहानसम्ममा भारतमा कोरोना संक्रमितको संख्या १ हजार ३९७ पुगेको छ भने ३५ जनाले ज्यान गुमाईसकेका छन् ।