नोटलाई संक्रमण रहित बनाउने सोचमा देखिएन राष्ट्र बैंक

0
Shares

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि नोटलाई तत्काल सफाई गर्ने सोचमा राष्ट्र बैंक देखिएको छैन। नोटलाई संक्रमण रहित बनाउने विषयमा छलफल भएपनि केन्द्रीय बैंकले भने यसमा खासै तयारी गरेको देखिँदैन।

सरकारले कोरोना संक्रमण नियन्त्रण गर्नका लागि मुलुकभर लक डाउन गरेको अवस्था हो। तर, लक डाउनभन्दा पनि मानव जिवन अभिन्न अंग बनेको मुद्रा मार्फत पनि कोरोना संक्रमण हुने चिकित्सकहरु बताउँदै आएका छन्।

त्यस विषयमा केही देशहरुले नोटलाई संक्रमण रहित बनाएको समाचाहरु पनि आएकै हुन्। यस सन्दर्भमा नेपाल राष्ट्र बैंकले भने तत्कालका लागि नोट सफाई गर्ने कुनै योजना बनाएको देखिन्न।

निजी क्षेत्रले नोटलाई पनि संक्रमण रहित बनाउनुपर्ने भनेर केन्द्रीय बैंक पुगेर आग्रह गरेको भएपनि बैंकका तर्फबाट त्यस्तो सोच नभएको राष्ट्र बैंकका एक अधिकारीले बताए । विदेशमा पैसालाई धोएको भनेर सुन्नमा आएपनि नेपालको सन्दर्भमा त्यस्तो केही गर्ने विषयमा औपचारिक छलफल तथा योजना नभएको ती अधिकारीको भनाई छ।

सर्वसाधारणमा भने नोटलाई पनि संक्रमण रहित बनाउनुपर्ने आवाज उठिरहेको अवस्था हो। त्यसका साथै अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्दा केही मुलुकहरुले नोटलाई सफा गरेका पनि छन्। सरकारले पनि नोट मार्फत कोरोना संक्रमणको डर भएकाले त्यसलाइ सफाइ गर्नुपर्ने भनेको भएपनि त्यस विषयमा भने सम्बन्धित निकाय मौन रहेको छ ।

अर्थमन्त्री संयोजक रहेको उच्चस्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिले बैंक तथा वित्तीय संस्थाहरुलाई बैंकहरुको काउन्टरमा जम्मा हुन आउने र काउन्टबाट वितरण गरिने नोटहरुलाई संक्रमण रहित गरेर मात्र प्रयोगमा ल्याउने व्यवस्था मिलाउन नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

समितिले गत बुधबार दिएको निर्देशन एक साता बितीसक्दा पनि केन्द्रीय बैंक मौन रहेको अवस्था छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाले नगदरहित कारोबारलाई प्रोत्साहन गर्न विभिन्न सेवाशुल्कमा छुट गरेको भएपनि सबै नेपाली नगद रहित कारोबारको गर्न सक्ने अवस्थामा पनि छैनन् ।

बैठकले गरेका निर्णय कार्यान्वयन गर्नको लागि अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, बीमा समिति, सहकारी विभाग, कम्पनी रजिष्ट्रार कार्यलय, बैंकर्स संघलाई प्रत्राचार गरेको छ ।

प्रकाशित मिति: २२ चैत्र २०७६, शनिबार  १५ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।