एनआईसी एसियाका ऋणीहरूलाई ब्याजमा भारी सहुलियत

0
Shares

एनआईसी एसिया बैंकले ऋणीले बुझाउनुपर्ने ब्याज रकममा भारी छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ।

कोरोना महामारीको असहज परिस्थितिमा ग्राहकलाई सहुलियत दिन यस्तो योजना ल्याएको बैंकले जनाएको छ।

यसअन्तर्गत बैंकबाट कर्जा सुविधा उपयोग गर्नुभएका सम्पूर्ण ग्राहकले वैशाख मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता, ब्याजलगायत तिर्न बाँकी रहेको बक्यौता सावाँ तथा ब्याज भुक्तानी गरे बुझाएको साधारण ब्याजको १० प्रतिशतले हुन आउने रकम तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुट प्रदान गरिनेछ।

यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरुका साथै चालू पुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरुमा लगायत बैंकबाट प्रवाह भएका सम्पूर्ण कर्जाहरुमा लागू हुनेछ। उक्त छुट रकम २०७७ जेठ महिनाको पहिलो हप्ताभित्र सम्बन्धित ग्राहकको खातामा जम्मा गरिनेछ।

तर यसरी ब्याज छुट दिँदा छुटपश्चात ग्राहक महानुभावले तिर्नुपर्ने ब्याज आधार दरबाट गणना हुने ब्याजभन्दा कम हुनेछैन।

यसअघि नै बैंकले नेपाल राष्ट्र बैंकको २०७६ चैत १६ गतेको निर्देशनअनुसार २०७६ चैत मसान्तभित्र भुक्तानी गर्नुपर्ने मासिक वा त्रैमासिक किस्ताबन्दी कर्जाहरूमा ग्राहकले चैत महिनाभित्र नै ब्याज तथा किस्ता बुझाएमा किस्तामा समाविष्ट ब्याज रकममा १० प्रतिशत छुट प्रदान गरिसकेको तथा अन्य विभिन्न छुट तथा सहुलियतहरू प्रदान गरिसकेको छ ।

नेपालको बैकिङ्ग इतिहासमा यस किसिमको सहुलियत दुर्लभ नै उपलब्ध हुने हुँदा सम्पूर्ण ग्राहकलाई यस मौकाको सदुपयोग गरी अधिकतम लाभ प्राप्त गर्न बैंकले अनुरोध समेत गरेको छ ।