मेलम्चीका सवारीसाधनलाई जाँच र औषधि पछि प्रवेश दिइने सहमति

0
Shares

जाँच र औषधि प्रयोगपछि मात्रै मेलम्ची खानेपानीका सवारीसाधनले हेलम्बु प्रवेश पाउने भएका छन् ।

हेलम्बु गाउँपालिका–४ र मेलम्ची खानेपानीबीच सुरक्षित तरिकाले सामान बोक्ने सवारीसाधन चलाउने सहमति भएपछि सवारीसाधन गाउँपालिकामा प्रवेश गर्न दिइएको छ।

यसअघि अत्यावश्यक सवारीसाधन मात्रै आफ्नो क्षेत्रभित्र प्रवेश दिने र अन्य कुनै सवारीसाधनमा रोक लगाउने निर्णय गरिएको थियो। आज वडा नम्बर ४ का वडाध्यक्ष, वडास्तरीय विपद् व्यवस्थापन समितिका संयोजक, प्रहरी प्रशासन र आयोजनाका प्रतिनिधिबीच मेलम्ची खानेपानीको निर्माणका निम्ति सामना ढुवानी गर्ने सवारीसाधन र चालक तथा सवारीका सहयोगीलाई समेत स्प्रे र स्यानेटाइजर प्रयोग गरी गाउँपालिकाभित्र प्रवेश दिने सहमति भएको वडाध्यक्ष राजकुमार लामिछानेले बताए।

सहमतिअनुसार मालसामान ढुवानी गर्ने सवारीसाधनका लागि वडा नं ६ तालामाराङमा जाँच र औषधि प्रयोगपछि मात्रै प्रवेश दिइएको छ। एम्बुलेन्स, खाद्यान, तरकारी तथा फलफूल र प्रेसका लागि मात्रै गाउँपालिकाभित्र प्रवेश दिने र अन्य सबै सवारीसाधनमा रोक लगाउने वडाको निर्णयले गर्दा मेलम्ची आयोजनाको निमार्ण प्रभावित हुँदै आएको थियो।

गाउँपालिकाभित्र पर्ने नेपालकै ठूलो परियोजना मेलम्ची खानेपानी आयोजनाका लागि दैनिकरुपमा ढुवानी हुँदै गरिएको गिट्टी, बालुवा सिमेन्ट लगायत अतिआवश्यक वस्तुसमेत रोकिने र सो परियोजनामा समेत ठूलो क्षति हुने अवस्था सिर्जना भएपछि स्थानीय र प्रहरीबीच झडपसमेत हुने अवस्था सिर्जना भएको थियोे ।

प्रकाशित मिति: ६ वैशाख २०७७, शनिबार  ०८ : २९ बजे