फागुनमा पहुँच पुग्न बाँकी स्थानीय तहमा शाखा विस्तार हुन सकेन, पहुँच पुगेकै ठाउँमा थपिए ९० शाखा

0
Shares

हरेक स्थानीय तहमा वाणिज्य बैंकको शाखा सञ्जाल विस्तार गर्ने सरकारी नीति सार्थक हुने बाटोमा पुगेपनि फागुन महिनामा स्थानीय तहमा वाणिज्य बैंकको शाखा बढ्न नसकेको देखिएको छ।

चालु आर्थिक वर्षको ७ महिना अवधिमा कूल ७५३ स्थानीय तहमध्ये ७४६ तहमा वाणिज्य बैंकका शाखा विस्तार भई बैंकिङ्ग पहुँच कायम भएकोमा ८ औं महिनामा पनि ७४६ नै रहेको हो। यद्यपी शाखा नरहेका स्थानबाहेक अन्य पहुँच पुगेकै ठाउँमा ९० स्थानमा बैंक तथा वित्तीय संस्थानको शाखा विस्तार भएको केन्द्रीय बैंकको तथ्याङ्कमा देखिएको हो।

अब ७ स्थानीय तहमा मात्रै वाणिज्य बैंकको शाखा विस्तार हुन बाँकी रहेको छ। केन्द्रीय बैंकको अनुसार सुदूरपश्चिम र वाग्मती प्रदेशको दुई।दुई स्थान, तथा गण्डकी, कर्णाली र प्रदेश नम्बर १ को एक।एक स्थानीय तहमा वाणिज्य बैंकको शाखा सञ्जाल विस्तार हुन बाँकी रहेको हो। प्रदेश नम्बर २ (१३६ स्थानीय तह) र ५ को सबै (१०९) स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार भैसकेको छ ।

केन्द्रीय बैंकका अनुसार फागुन मसान्तसम्ममा वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी, र लघुवित्तको गरि कूल १६२ वटा संस्थाले ९ हजार ६४० वटा शाखा मार्फत बैंकिङ्ग सेवा प्रवाह भएको छ। माघमा यस्तो संख्या ९ हजार ५५० वटा रहेकोमा फागुनमान ९० वटा शाखा विस्तार भएको हो। पूर्वाधार विकास बैंकको शाखा १ वटा छ।

जसमध्ये २७ वटा वाणिज्य बैंकको कूल शाखा संख्या ४ हजार २१९ वटा, २३ विकास बैंकको शाखा संख्या १ हजार २१३ वटा, २२ वित्त कम्पनीको २३३ वटा, ८९ वटा लघुवित्त संस्थाले ३ हजार ९६९ वटा शाखा सञ्जाल विस्तार गरेका छन्।