कोरोना जित्ने नेपालीको संख्या पाँच पुग्यो, सुदूरपश्चिमका पहिलो संक्रमित पनि डिस्चार्ज

0
Shares


सुदूरपश्चिमका पहिलो कोरोना संक्रमित ३४ युवक मंगलबार साँझ सञ्चो भएर अस्पतालबाट घर फर्किएपछि कोरोना निको हुने नेपालीको संख्या ५ पुगेको छ।

धनगढी उपमहानगरपालिका–५ घर भएका उनी ३० दिनअघि अस्पताल भर्ना भएका थिए। लगातार दोस्रो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरेको अस्पतालका प्रवक्ता डा जगदीश जोशीले बताए।

दुबईबाट आएका उनी चैत ११ गते सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना भएका थिए। चैत १४ गते कोरोना पुष्टि भएको थियो।

गत आइतबार लम्कीका २१ वर्षीय युवक पनि सोही अस्पताबाट निको भएर डिस्चार्ज भएका थिए। यसअघि बाग्लुङकी ६५ वर्षीया महिला, काठमाडौँकी प्रसिद्धि श्रेष्ठ अस्पतालबाट निको भएर घर पुगिसकेका छन् । सबैभन्दा अगाडि चीनको वुहानबाट आएका एक सङ्क्रमित पहिले नै स्वस्थ्य भएर घर फर्किसकेका थिए ।

हालसम्म नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार मात्रै थप १० जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको हो। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा २ र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ८ जना गरी १० जना नयाँ संक्रमित भेटिएका हुन्।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण भएमध्ये ५ जना निको भएर घर फर्किसकेका छन भने अन्यको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । संक्रमितमध्ये पनि अधिकांस भारतीय नागरिकहरु रहेका छन्।

 

 

प्रकाशित मिति: ९ वैशाख २०७७, मंगलबार  १९ : ४८ बजे