भारत र पाकिस्तानका प्रधानमन्त्रीबीच फोनवार्ता, इमरान खानले मोदीलाई दिए वधाई

0
Shares

भारत र पाकिस्तानका शीर्ष नेताबीच फोनवार्ता भएको दुई देशका विदेश मन्त्रालयद्वारा आइतबार जारी विज्ञप्तिमा जनाइएको छ ।

गत फेब्रअरीमा आणविक शक्ति सम्पन्न परस्पर विरोधी दुई क्षेत्रीय मुलुकबीच भएको हवाई आक्रमण पछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा पाकिस्तानी प्रधानमन्त्री इमरान खानबीच फोनवार्ता भएको हो ।

फोनमा पाकिस्तानी प्रधानमन्त्री खानले हालै सम्पन्न लोकसभा निर्वाचनमा समकक्षी भारतीय नेता मोदीको भारतीय जनता पार्टी (भाजपा) र भाजपा नेतृत्वको गठबन्धन नेशनल डेमोक्रेटिक अलाएन्सले पाएको सफलताका लागि खानले मोदीलाई वधाई दिएको दुवै मुलुकले जारी गरेका छुट्टाछुट्टै विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पाकिस्तानी विदेश मन्त्रालयले दिएको जानकारीमा भनिएको छ, “दुई नेताबीचको कुराकानीका क्रममा खानले दुवै मुलुक र त्यहाँका जनताको हितका लागि दुई मुलुकबीच सँगसँगै मिलेर अघि बढ्ने इच्छा व्यक्त गरेका थिए ।”

दक्षिण एशियाको शान्ति, विकास र समृद्धिका लागि आफ्नो परिकल्पना दोहोराउँदै खानले आफूले भारतीय प्रधानमन्त्री मोदीसँग उक्त उद्देश्यका लागि काम गर्न चाहेको बताएका छा, पाकिस्तानी विज्ञप्तिमा उल्लेख छ ।

“भारतीय प्रधानमन्त्री मोदीले हिंसा तथा आतङ्कवादरहित नेतृत्वमार्फत् यस क्षेत्रमा शान्ति, विकास र समृद्धिका लागि सहकार्य गर्न विश्वासको वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएका छन,” भारतीय विदेश मन्त्रालयले भनेको छ ।

पाकिस्तानमा बसेर गतिविधि सञ्चालन गर्दै आएको एक लडाकू समूह (जैश–ए–मोहम्मद)ले दावी गरेको एक आक्रमणमा ४० जना भारतीय सैनिक अधिकारीको मृत्यु भएको घटनालाई लिएर दुई मुलुकबीच तनाव चर्किएको थियो । जसका कारण दुवै मुलुकबीच हवाई आक्रमण र प्रतिरोधमा उत्रिएका थिए ।