इन्फिनिटी लघुवित्तको आईपिओ खुल्यो, एक हजार रुपैयाँको आवेदन गरे पुग्छ

0
Shares

इन्फिनिटी लघुवित्तले सर्व साधारणमा जारी गरेको प्राथमिक शेयर आजदेखि बिक्रीमा आएको छ । लघुवित्तले ६ करोड ७४ लाख रुपैयाँ बराबरको ६ लाख ७४ हजार कित्ता आइपिओ निष्काशन गरेको छ ।

लघुवित्तले जारी पूँजी २० करोड ७४ लाख रुपैयाँको ३२.५० प्रतिशत बराबरको सार्वजनिक निष्काशन गरेकोे हो।

कुल निष्कासित ६ लाख ७४ हजार कित्ता शेयर मध्ये ३३ हजार ७०० कित्ता सामूहिक लगानी कोषहरु र १० हजार ३७० कित्ता शेयर लघुवित्तका कर्मचारीलाई छुट्याइएको छ । ६ लाख २९ हजार ९३० कित्ता शेयर सर्वसाधारणमा बिक्री हुनेछ ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्दे्शिका बमोजिम बाँडफाँड गर्दा यस आईपिओमा ६२ हजार ९९३ जनाले गोलाप्रथाबाट १० कित्ता शेयर पाउनेछन् । हाल तीन लाख भन्दा बढीले लघुवित्तको आईपिओमा आवेदन गर्ने गरेका छन् । यसअनुसार कम्पनीको आईपिओ १५ देखि २० प्रतिशत आवेदनकले पाउने देखिन्छ ।

उक्त आईपिओमा लगानी गर्न इच्छुक लगानीकर्ताहरुले जेठ १३ देखि १६ गतेसम्म आवेदन गर्न सक्नेछन्। लघुवित्तको शेयर बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ।

लघुवित्तको आईपिओमा अनलाईनबाट मेरो शेयर तथा धितोपत्र बोर्डबाट आश्वा सदस्यता लिएका लगानीकर्ताकै बैंक खाता रहेको बैंक तथा वित्तीय संस्थाबाट सी–आस्वा प्रणालीमा आईपिओ भर्न सकिन्छ।

लघुवित्त कम्पनीको आईपिओलाई क्रेडिट रेटिङ्ग कम्पनी केयर रेटिङ्गस् नेपालले ‘ग्रेड ४’ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको बुझाउँछ।

हाल १४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको इन्फिनिटीको आईपिओ बिक्रीपछि २० करोड ७४ लाख पुग्नेछ। अधिकृत पूँजी ५० करोड रहेको छ ।