बागलुङकी १९ वर्षीया अंशु सापकोटा सङ्क्रमणमुक्त, कोरोना जितेर घर फर्किन्

0
Shares

कोभिड–१९ बाट सङ्क्रमित बागलुङ नगरपालिका–४ की १९ वर्षीया अंशु सापकोटा निको भएकी छिन् । धवलागिरि अञ्चल अस्पतालको आइसोलेसनकक्षमा उपचाररत उनी शुक्रबार राति १० बजे अस्पतालबाट घर फर्किएकी हुन्।

पाँचौ र छैटौँ जाँचमा लगातार कोरोनाको नेगेटिभ रिपोर्ट आएपछि सापकोटालाई डिस्चार्ज गरिएको अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरलले जानकारी दिए। “उहाँको स्वास्थ्य अवस्था राम्रो छ, दुई हप्ता घरमा पनि अलग्गिएर बस्न लगाएका छौँ”, प्रमुख चिकित्सक पोखरेलले भने।

अस्पतालबाट घर फर्कने क्रममा सापकोटाले आफ्नो आत्मबल र चिकित्सक, स्वास्थ्यकर्मीको स्याहारले कोरोनालाई जित्न सफल भएको बताए । “म खुसी छु, मलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु”, उनले भनिन्, “अस्पतालमा बस्दा राम्रो हेरचाह पाएँ, परिवार र आफन्तले माया दिनुभयो ।”

सापकोटाका बुबा ऋषिरामले छोरीमा सङ्क्रमण भएको थाहा पाउँदा पीडा भए पनि निको भएर फर्कदाँ सिङ्गो परिवारमा खुशी छाएको बताए।

बेल्जियमबाट दोहा हुँदै कतार एयरको क्यूआर ६५२ मा गत चैत ४ गते नेपाल आएकी सापकोटामा चैत १५ गते कोराना भाइरस सङ्क्रमणको पुष्टि भएको थियो। २८ दिनको अस्पताल बसाइपछि उनी घर फर्किएकी हुन्।

उनीसँगै एउटै विमानमा बेल्जियमबाट आएकी सोही नगरपालिका–३ की सङ्क्रमित ६५ वर्षीया मनकुमारी पौडेल निको भएर अघिल्लो शनिबार नै घर फर्किसकेकी छिन्।

पौडेलमा गत चैत १५ गते कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको थियो । सापकोटा नेपालको पाँचौँ र बागलुङको पहिलो सङ्क्रमित हुन् भने पौडेल नेपालको छैटौँ र बागलुङको दोस्रो सङ्क्रमित हुन् । दुवै सङ्क्रमित निको भएपछि हाललाई बागलुङ कोरोनाका बिरामीमुक्त जिल्ला भएको छ ।

हालसम्म कूल ४९ जनामा संक्रमण भएकोमा कोरोनालाई जितेर ११ जना घर फर्किसकेका छन्।