पैसा तयार पार्नुहोस्, लकडाउन लगत्तै खुल्दैछ साढे ८१ करोडको आइपीओ

0
Shares

तपाई धितोपत्रको प्राथमिक बजार (आईपीओ) मा लगानी गर्ने सोचमा हुनुहुन्छ भने तयार रहनुहोस् । लकडाउन सकिए लगत्तै दुई कम्पनीले ८१ करोड ५३ लाख ४ हजार ६०० रुपैयाँ बराबरको आईपीओ जारी गर्ने अन्तिम तयारी गरिरहेका छन्।

लकडाउनका कारण आईपीओ निष्काशन प्रभावित बनेका चार कम्पनीमध्ये २ कम्पनीले सर्वसाधारणमा र अन्य दुई कम्पनीले आयोजनाबाट प्रभावित बासिन्दाका लागि शेयर जारी गर्ने तयारी छ।

यसरी नेपाल धितोपत्र बोर्डबाट आइपिओ निष्कासन गर्न अनुमति पाएका दुई कम्पनीहरु एनआइसी एसिया लघुवित्त र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको हाल कोरोना भाइरस संक्रमण फैलिएपछि लकडाउनका कारण हाल दुबै कम्पनीको आइपिओ निष्कासन हुनबाट रोकिएको अवस्था छ ।

एनआइसी एसिया लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा लघुवित्तले क्षेत्रको हालसम्मकै सबैभन्दा ठूलो ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता र एनआरएन इन्फ्रास्ट्रक्चरले ३३ लाख ९८ हजार ५६ कित्ता आइपिओ निष्कासन गर्न लागेको हो।

आईपीओ जारी गर्न बोर्डले एनआरएन इन्फ्रास्ट्रक्चरलाई फागुन ४ गते र एनआइसी एसिया लघुवित्तलाई चैत ४ गते अनुमति दिएको थियो । सो अनुसार एनआरएनले चैत २८ र लघुवित्तले बैशाख २ गतेदेखि आइपिओ निष्काशन गर्ने तयारी गरेका थिए।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ मा भएको व्यवस्था अनुसार बोर्डबाट विवरणपत्र, बिक्री प्रस्ताव वा सम्बद्ध विवरण स्वीकृत भएको मितिबाट २ महिनाभित्र सम्बन्धित संगठित संस्थाले धितोपत्रको बिक्री गरिसक्नुपर्नेछ । तर लकडाउनका कारण सो व्यवस्था अनुसार शेयर जारी हुन नसकेको हो। दुबै कम्पनीको बिक्री प्रबन्धक रहेको सानिमा क्यापिटलले लकडाउन भएकाले नियामक निकाय नेपाल धितोपत्र बोर्डको आदेश लिएर नै हाल निष्कासन रोकिएको जानकारी दिँदै खुला हुने लगत्तै निष्काशन हुने बताएको छ।

लघुवित्तले जारी पूँजी १ अर्ब ४८ करोडको ३२.१३ प्रतिशत र एनआरएन इन्फ्रास्ट्रक्चरले जारी पूँजी १ अर्ब १३ करोड २६ लाखको ३० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो।

यी दुई बाहेक युनाईटेड इदिमर्दी एण्ड आरबि हाइड्रोपावरले स्थानीय बासिन्दाका लागि र लिबर्टी इनर्जी कम्पनीले स्थानीय र सर्वसाधारण दुबैका लागि शेयर जारी गर्न पाएका छैनन्।

ग्लोबल आइएमई क्यापिटल मार्फत चैत १० गतेदेखि स्थानीयमा ४ लाख २० हजार लाख कित्ता शेयर जारी गर्न आह्वानपत्र निष्काशन गरेको युनाइटेड इदिमर्दी लकडाउनकै कारण आईपीओ निष्काशन स्थगित छ।

लिबर्टी इनर्जीले लमजुङ जिल्लाको उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि बिक्री खुला गरेको १५ लाख कित्ता शेयरको निष्काशन गत फागुन २७ गतेदेखि छिटोमा चैत ११ र ढिलोमा चैत २६ गतेसम्म आवेदन दिन पाउने गरि खुला भएको आईपीओमा आवेदन समय थप भएको वा निष्काशन बन्द भएको कुनैपनि सूचना कम्पनीले जारी गरेको छैन।

उसले सर्वसाधारणलाई जारी गर्नुपर्ने २२ लाख ५० हजार कित्ताको निष्काशन पनि हाल लकडाउनले अवरुद्ध रहेको छ। नत्र यतिबेला आम लगानीकर्तामा शेयर जारी भैसकेको अवस्था हुन्थ्यो।

प्रकाशित मिति: १३ वैशाख २०७७, शनिबार  १५ : ३८ बजे