कोरोनाबाट विश्वभरका २ लाख ६ हजारले ज्यान गुमाए, अमेरिकामा मर्नेको संख्यामा कमी

0
Shares

अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्यामा कमी आउन थालेको छ। गएको २४ घन्टामा अमेरिकामा कोरोना संक्रमणबाट ११ सय ५७ जनाको मात्रै ज्यान गएको वर्ल्डओमिटरले जनाएको छ।

यो अघिल्लो दिनको तुलनामा आधाले कमी हो। शनिबार अमेरिकामा २ हजार ६५ जनाको मृत्यु भएको थियो।

कोरोना संक्रमणबाट एक दिनमै २८ सयभन्दा बढीको मृत्यु हुने गरेको अमेरिकामा पछिल्ला दिनमा मृत्यु हुनेको संख्यामा कमी आउन थालेको हो। अहिलेसम्म अमेरिकामा कोरोना संक्रमणबाट ५५ हजार ४ सय १३ जनाको मृत्यु भएको छ।

त्यहाँ आइतबार साढे २६ हजार नयाँ संक्रमित थपिएका छन्। यो सँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ९ लाख ८७ हजार नाघेको छ।

विश्वभर साढे २९ लाख भन्दा धेरैमा पुष्टि, २ लाख ६ हजारले ज्यान गुमाए

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणका कारण अहिले विश्वभरी साढे २९ लाख भन्दा धेरैमा पुष्टि भएको छ।

जसमध्ये ८ लाख ७७ हजारभन्दा धेरै निको भएका छन् । १९ लाख भन्दा धेरैको उपचार चलिरहेको छ । उपचार गराईरहेका मध्ये ५७ हजार ५ सय ९१ जना अर्थात ३ प्रतिशतको अवस्था जटिल रहेको र बाँकी अरुको अवस्था सामान्य रहेको वल्डओमिटले जनाएको छ ।

२ लाख ६ हजारभन्दा धेरैको भने ज्यान गएको छ । सबैभन्दा धेरै अमेरिकामा ९ लाख ८६ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएकोमा ५५ हजारभन्दा धेरैको ज्यान गएको छ ।

यस्तै गएको २४ घण्टामा इटालीमा यो महिनाकै कम २ सय ६० जनाको ज्यान गएको छ । त्यहाँ ज्यान गुमाउनेको संख्या साढे २६ हजार नाघेको छ ।

यसैगरी स्पेनमा २३ हजारभन्दा धेरै, फ्रान्समा साढे २२ हजारभन्दा धेरै र बेलायतमा साढे २० हजारभन्दा धेरैको ज्यान गएको छ । भारतमा पनि संक्रमितको संख्या बढ्दो छ ।

भारतमा साढे २७ हजारभन्दा धेरैमा पुष्टि, साढे ८ सय भन्दा धेरैको ज्यान मृत्यु

भारतमा अहिलेसम्म साढे २७ हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएकोमा साढे ८ सय भन्दा धेरैको ज्यान गैसकेको छ ।

कोरोनाले आक्रान्त बनेका युरोपका देशमा पनि मृत्युदर घट्दै गएको छ। आइतबार इटालीमा २ सय ६० जनाको मात्रै मृत्यु भएको छ।

त्यसैगरी आइतबार स्पेनमा २८८, जर्मनीमा ९९, फ्रान्समा २४२, युकेमा ३१३, टर्कीमा ९९, ब्राजिलमा २२६, बेल्जियममा १७७, मेक्सिकोमा ८४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

भारतमा गएको २४ घन्टामा ५६ जनाले ज्यान गुमाएका छन्। त्यहाँ अहिलेसम्म मृतकको संख्या आठ सय ८१ पुगेको छ भने संक्रमित २७ हजार ८ सय ९० पुगेका छन्।

त्यहाँ आइतबार एकै दिन १६ सय भन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।