इटलीले बन्दाबन्दीलाई केही खुकुलो पार्ने, कोरोना सङ्क्रमण दर घट्दै

0
Shares

इटलीमा कोरोना भाइरसको सङ्क्रमण दर विस्तारै कम हुँदै गएको सङ्केत गर्दै प्रधानमन्त्री जिसेपे कोन्टीले आगामी मे ४ देखि उत्पादन, निर्माण र थोक विक्रेताहरूलाई काममा फर्किन सक्ने बताएका छन् ।

राष्ट्रिय टेलिभिजन च्यानलमार्फत् प्रशारण गरिएको भिडियोमा उनले भने, “शुरूमा अर्थात् मे ४ देखि उत्पादन, निर्माण र थोक विक्रेताहरू काममा फर्किन सरकारले अनुमति दिने तयारी गरिरहेको छ । अहिलेकै अवस्था रहेमा त्यसपछि खुद्रा व्यापारी, रङ्गशाला, प्रदर्शन भवनहरू र लाइब्रेरीलाई मे १८ पछि खुला गरिनेछ भने बार, रेष्टुरेण्ट, सैलुन र श्रृङ्गार पसलहरूलाई जुन १ देखि खुला गरिनेछ।”

प्रधानमन्त्रीले मे ४ पछि स्थानीय नागरिकलाई मास्कको प्रयोग गरेर आफ्ना आफन्त भेट्न पार्क तथा सार्वजनिक बगैँचाहरू खुल्ने बताएका छन् । घरबाट करिब २०० मिटरन्दा टाढा जान मोटरसाइकलको प्रयोग गर्न र शारिरीक अभ्यासका लागि हिड्न खुला गरिने प्रधानमन्त्री कोन्टीले बताए।

राष्ट्रिय बन्दाबन्दीको घोषणालाई आगामी मे ३ पछि खुला गर्ने तर दोस्रो चरणका लागि फरक किसिमको नीति अवलम्वन गरिने उनले बताए । उनले सङ्क्रमण बढी रहेको क्षेत्रमा आगामी केही समय नागरिकले कठिनाई परेपनि सहेर सरकारलाई सघाउन र आफ्नो व्यक्तिगत स्वास्थ्यको ख्याल गर्नसमेत आग्रह गरेका छन्।

मृतकका आफन्तले कम्तीमा १५ जनाको सहभागितामा अन्त्येष्टिमा सहभागिता जनाउन पाउने र सबै व्यक्ति, उद्योग तथा व्यवसायिक फर्महरूले कोरोनाभाइरसबाट बच्न सुरक्षा अनुशासनलाई पालना गर्नुपर्ने र त्यसो नगरेको पाइएमा आवश्यक कानुनी कारबाही हुने पनि प्रधानमन्त्रीले बताए।

अझैपनि कोभिड–१९ सङ्क्रमणको सुरक्षा खतरा व्याप्त रहेको छ त्यसैले सामाजिक दूरी कायम गर्ने, मास्क तथा पञ्जाहरूको प्रयोग गर्ने र अनावश्यक भिडभाडमा नजाने गर्नेजस्ता उपाय अवलम्बन गर्दै कोभिड–१९ विरूद्धको लडाईँमा सम्पूर्ण नागरिकको सहयोग अझै पनि केही समयका लागि सरकार तथा स्वास्थ्यकर्मीको अनुरोधलाई मानी सहकार्य गर्न उनले आग्रह गरे।

इटलीमा विगत २४ घण्टामा २६० जनाको मृत्यु भएको छ भने यो मार्चपछिको सबैभन्दा निम्न सङ्ख्या भएको यहाँको नागरिक सुरक्षा विभागले आइतबार जारी विज्ञप्तिमा उल्लेख छ । इटलीमा सोमबारसम्ममा २६ हजार ६४४ जनाको कोभिड–१९ को सङ्क्रमणका कारण मृत्यु भएको छ भने एक लाख ९७ हजार ६७५ जनामा सङ्क्रमण पुष्टि भएको छ।

इटलीमा पछिल्ला केही साता यता निको भएर घर फर्किनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । आइतबारसम्म इटलीमा ६४ हजार ९२८ जना निको भै घर फर्किएका छन्।

प्रकाशित मिति: १५ वैशाख २०७७, सोमबार  १९ : २३ बजे