सिटिजन्स बैंकले निकाल्यो वाणिज्य बैंकमा पहिलो वित्तीय विवरण, कति कमायो नाफा ?

0
Shares

सिटिजन्स बैंक इन्टरनेसनल (CZBIL) चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशन गर्ने पहिलो वाणिज्य बैंक बनेको छ। बैंकले मंगलबार नेपाल फाइनान्सियल रिपोर्टिङ स्टाण्डर्ड (एनएफआरएस) अनुसारको वित्तीय विवरण प्रकाशन गरेको हो।

सिटिजन्स बैंकको चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा १ अर्ब ९ करोड १२ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो।

गत आवको यसै अवधिमा बैंकले १ अर्ब ६ करोड ९६ लाख १ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा बैंकको नाफा २.०२ प्रतिशतले बढेको हो। 

एनएफआरएस प्रतिवेदन अनुसार बैंकले ४१ करोड ९ लाख ६५ हजार रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको उल्लेख छ। बैंकले नाफाबाट ६८ करोड २ लाख रुपैयाँ विभिन्न शिर्षकहरुको व्यवस्था गरेको छ । राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुपको व्यवस्था पश्चात कायम हुने फ्रि प्रोफिट बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ।

बैंकले चैत मसान्तसम्ममा ७७ अर्ब ८३ करोड ६५ लाख रुपैयाँ निक्षेप संकलन गरि ७५ अर्ब १ करोड ४२ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ। यसबाट बैंकले २ अर्ब २४ करोड ४८ लाख रुपैयाँ खुद ब्याज आम्दानी र १ अब ५२ करोड ३१ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ।

गत आवको यसै अवधिमा बैंकले ७० अर्ब ५० करोड निक्षेप संकलन गरि ६२ अर्ब ९१ करोड कर्जा लगानीबाट २ अर्ब ८ करोड खुद ब्याज आम्दानी गरेको थियो। सो समयमा बैंकको सञ्चालन नाफा १ अर्ब ४९ करोड रहेको थियो। समीक्षा अवधिमा बैंकलेल १० प्रतिशत बढीले निक्षेप संकलन बढाउँदा कर्जा लगानीकर्ता १९ प्रतिशतको वृद्धि गरेको छ। जसका कारण लकडानमा पनि बैंकको नाफा बढेको छ। 

आठ अर्ब ६२ करोड २१ लाख ९६ हजार ७१६ रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको प्रतिशेयर आम्दानी १६.८७ रुपैयाँ रहेको छ। यस्तै बैंकको शेयरधनी कोषमा ४५ करोड ३३ लाख रुपैयाँ र जगेडा कोषमा ३ अर्ब ४९ करोड ३३ लाख रुपैयाँ सञ्चित रहेको छ।

बैंकको पूँजीकोष अनुपात १४.२१ प्रतिशत, कर्जा निक्षेप अनुपात ७८.७८ प्रतिशत, निक्षेप संकलन लागत ७.८९ प्रतिशत, आधार ब्याजदर ९.८८ प्रतिशत र स्प्रेडदर ४.०५ प्रतिशत रहेको छ ।

बैंकको खराब कर्जा अनुपात घटेर ०.९७ प्रतिशतमा आएको छ भने निक्षेप संकलन लागत र आधार ब्याजदर दुबै घटेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १४५.७७ रुपैयाँ रहेको छ।