अत्याधुनिक सुख्खा बन्दरगाह सहित आजदेखि औपचारिक रुपमा तातोपानी नाका खुल्ने

0
Shares

विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्प गएदेखि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाकाबाट मंगलबार चार वटा खाली कन्टेनर चीन प्रवेश गरेका छन् ।

नेपाल चीनको प्रमुख व्यापारिक उक्त नाका उद्योग, वाणिज्य तथा आपूर्तिन्त्री र चिनियाँ अधिकारीले आज औपचारिक रुपमा शुभारम्भ गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताए ।

भोटेकोशी गाउँपालिकामा नेपाल र चीन सरकारको अध्यागमन प्रमुखको रोहवरमा १० जना नेपाली र चार वटा खाली कन्टेनरलाई खासा प्रवेशका लागि अस्थायी पास उपलब्ध गराइएको थियो ।

सोहीअनुरुप ती कन्टेनर चिनियाँ सामान लिएर बुधबार नेपाल भित्रिने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए । नाका खुलाउने सिलसिलामा मंगलबारनै चिनियाँ राजदूत होउ यान्छी निरीक्षणका लागि तातोपानी पुगेका थिए । राजदूत यान्छीले गाउँपालिकाका जनप्रतिनिधिसँग छलफलसमेत गरे।

अरनिको राजमार्ग र तातोपानी क्षेत्रको सीमापुल निर्माणसहित सबै काम सम्पन्न भइसकेको छ । चीन सरकारको आर्थिक तथा प्रविधिक सहयोगमा लार्चास्थित भोटेकोशीको ११२ मिटर पक्की पुलका साथै ५०० रोपनी क्षेत्रमा फैलिएको अत्याधुनिक सुख्खा बन्दरगाहको निर्माण कार्य सम्पन्न भइसकेको छ ।

यसअघि सीमापुलस्थित लिपिङबाट भन्सारको काम हुँदै आएकामा त्यहाँदेखि ६।५ किलोमिटर तलरहेको लार्चाबाट सबै काम हुने भएको छ । त्यसैगरी अरनिको राजमार्गको बसेरीदेखि सीमापुलसम्मको बाटो चीन सरकार र त्यहाँदेखि बाह्रबिसेसम्म सडक डिभिजन कार्यालय दोलखाद्वारा निर्माण गरिएको इञ्जिनीयर प्रदीप निरौलाले बताए ।