आर्थिक वृद्धि २.२७ प्रतिशतमा खुम्चिने सरकारको प्रक्षेपण

0
Shares


चालु आर्थिक वर्ष ०७६/०७७ मा नेपालको आर्थिक वृद्धि २.२७ प्रतिशतमा खुम्चिने भएको छ ।

केन्द्रीय तथ्याँक विभागले आधारभूत मूल्यमा चालु आर्थिक वर्ष ०७६/०७७ मा आर्थिक वृद्धि २.२७ प्रतिशत मात्र हुने प्रक्षेपण गरेको छ ।

कोरोना संक्रमणको कारण ८ दशमलव ५ प्रतिशतको लक्ष्य घटेर २ दशमलव २७ प्रतिशत रहने भएको केन्द्रीय तथ्याङ्क विभागले बताएको छ।

तथ्याङ्क विभागका अनुसार कृषि क्षेत्रको वृद्धि २ दशमलव ५९ प्रतिशत, उद्योगको वृद्धिदर माइनस २ दशमलव २७ निर्माण क्षेत्र माइनस ० दशमलव ३१ प्रतिशत र होटल रेष्टुरेन्ट क्षेत्रमा माइनस १६ दशमलव ३० प्रतिशतको वृद्धिदर कायम रहने  अनुमान गरेको छ।

विश्व बैंक र अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले साढे २ प्रतिशत हारहारीमा आर्थिक वृद्धि हुने प्रक्षेपण गरेका बेला विभागले सो भन्दा कम हुने अनुमान गरेको हो ।

एसियाली विकास बैंकले ३ अप्रिलमा एक प्रतिवेदन सार्वजनिक गर्दै कोरोनाको प्रभाव बढ्दै गएकाले नेपालको आर्थिक वृद्धिदर यस वर्ष ५.३ प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको थियो ।

विश्व बैंकले आफ्नो प्रक्षेपणमा वृद्धिदर १.५ देखि २.८ प्रतिशतभित्र सीमित रहने उल्लेख गरेको छ भने अन्तराष्ट्रिय मुद्राकोषले २.५ प्रतिशतको वृद्धिदर प्रक्षेपण गरेको छ।