थर्मल गनमा कालोबजारी गर्ने अग्रवालमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान

0
Shares

कालोबजारीका आरोपित शंकर समूहका सञ्चालक सुलभ अग्रवालमाथि सम्पत्ति शुद्धीकरण विभागले पनि अनुसन्धान गर्ने भएको छ ।

यसमा लागि विभागले अग्रवाललाई उपस्थित गराउन अनुरोध गर्दै प्रहरीमार्फत जिल्ला सरकारी वकीलको कार्यालयलाई पत्र पठाएको छ ।

सरकारी वकीलको कार्यालयले अग्रवाललाई उपस्थित गराउन बुधवार पत्र पठाएको छ। अग्रवाल विरुद्धको मुद्दा हाल जिल्ला अदालतमा विचाराधीन अवस्थामा छ ।

अग्रवाललाई सम्पत्ति शुद्धीकरण विभागमार्फत पनि छानविन गर्न लागिएको बताइएको छ। ज्वरो नाप्ने थर्मल गनमा कालोबजारी गरेको आरोपमा अग्रवाल गत चैत २५ गते काठमाडौंको नक्सालबाट पक्राउ परेका थिए ।

महानगरीय अपराध महाशाखाको विशेष समूहले उनलाई ६७ थान थर्मल गनसहित रंगेहात प्रक्राउ गरेको थियो । अग्रवालले सामान्यतया ३ हजार ५०० पर्ने थर्मल गनलाई १५ हजारसम्ममा विक्री गरेको प्रहरीको भनाइ छ ।

अग्रवालविरुद्ध कालोबजारी, अवैध भण्डारण तथा नाफाखोरी, कृत्रिम अभाव सृजना तथा सार्वजनिक पद दुरुपयोग गरेको आरोपमा मुद्दा चलाइएको छ । अग्रवाललाई १५ लाख ७८ हजार बिगो र ३ वर्ष कैदसजाय मागदाबी गरिएको छ ।

उक्त मुद्दामाथि बुधवार शुरू भएको थुनछेक बहस नसकिएपछि आज पनि थप बहस हुने भएको छ ।

प्रकाशित मिति: १८ वैशाख २०७७, बिहीबार  ०८ : २३ बजे