दुई वर्षसम्मका लागि विद्युतमा २० प्रतिशत छुट दिन निजी क्षेत्रको माग

0
Shares

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोर र नेपाल चेम्वर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल सहित तीनवटै संस्थाका पदाधिकारीहरू सम्मिलित प्रतिनिधिमण्डलले उर्जामन्त्री वर्षमान पुन समक्ष आज उर्जा मन्त्रालयमा भेट गरी कोरोना भाइरस महामारीले उद्योग व्यवसायनै संकटमा परेकाले उद्योग व्यवसाय क्षेत्रलाई सहयोग गर्न आग्रह गरेको छ ।

महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णु कुमार अग्रवाल सहित निजी क्षेत्रका उद्यमीव्यवसायीहरूको सहभागिता रहेको सो अवसरमा अहिलेको कोरोना संकटमा उद्योग व्यवसायलाई दुई वर्षसम्मका लागि विद्युतमा २० प्रतिशत छुट दिन माग गरिएको छ ।

निजी क्षेत्रका तर्फबाट अहिले उद्योगहरू बन्द रहेका र उनीहरुले विद्युत् प्रयोग समेत नगरेकाले विद्युत प्राधिकरणले कम्तिमा चार महिनाका लागि डिमान्ड चार्ज छुटदिन समेत मन्त्री पुनः समक्ष आग्रह गरिएको छ । साथै बक्यौता महसुल तिर्न चार महिनाको अवधि दिइनुपर्ने र उक्त अवधिका लागि जरिवाना समेत नलिन आग्रह गरिएको
छ ।

प्रतिनिधिमण्डलकातर्फबाट विभिन्न जिल्लाहरूमा निर्माण भैरहेका जलविद्युत आयोजनाहरूको निर्माणमा विभिन्न बाहनामा अवरोध हुंदै आएकाले निर्माण कार्यलाई निरन्तरता दिन स्थानीयस्तरमा समन्वय गरी सहयोग गर्न पनि आग्रह गरिएको थियो ।