कपिलवस्तुमा मजदूरलाई सुरक्षित राखेर उद्योग सञ्चालन गरिने

0
Shares

लकडाउनको पूर्ण पालना गरी आफ्ना मजदूरलाई उद्योगमै राख्ने व्यवस्था मिलाएर कपिलवस्तुमा उद्योग सञ्चालन गर्न दिने निर्णय गरिएको छ । सामाजिक दूरी, स्वास्थ्य उपकरण र स्वास्थ्यकर्मीको व्यवस्था गरी उद्योग सञ्चालन गर्ने निर्णय गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयद्वारा लकडाउन र त्यसले पारेको असरका विषयमा संघीय सांसद, प्रदेशसभा सदस्य, व्यापारी, निर्माण प्यवसायी, सञ्चारकर्मी र सुरक्षा निकायका प्रमुखबीच छलफल भई सीमामा थप कडाइ र लकडाउनको पूर्ण पालना गरी खाद्यान्न र तरकारी सहज ओसापोसारका लागि प्रशासनले पास उपलब्ध गराउने निर्णयसमेत भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए।

“बैठकमा संघ, प्रदेश र पालिकाले शुरुआत गरेको विकास निर्माणका आयोजनालाई पनि निरन्तरता दिने निर्णय भएको छ ”, उनले भने।
कपिलवस्तुका सांसदले लकडाउन लम्बिँदै जाँदा मजदूरको प्रयोग गरी जिल्लाका कृषि, विकासनिर्माण र आर्थिक गतिविधि निरन्तर सञ्चालन गर्न दिइनुपर्ने सुझाव दिएका थिए। लकडाउनका कारण कोरोना भाइरसको संक्रमण रोकथाम हुँदै गएकाले भारतीय सीमा नाकालाई अझ कडाइ गरेर निगरानी बढाउनुपर्नेमा सांसदको जोड दिएका थिए।

बैठकमा राष्ट्रियसभा सदस्य विमला घिमिरे, प्रतिनिधिसभा सदस्य बृजेशकुमार गुप्ता, अभिषेकप्रताप शाह र अतहरकमाल मुसलमान, प्रदेशसभा सदस्य विष्णु पन्थी, अर्जुन केसी, दीर्घनारायण पाण्डे, धर्मबहादुरलाल श्रीवास्तव, सहसराम यादव, सुष्मा यादव, माला गोताम, फैजिया खातुन लगायतले यहाँ हालसम्म कोरोना संक्रमण नदेखिएकाले डराउनुपर्ने अवस्था नरहेको बताए। यहाँ लकडाउन समयमा प्रशासन कार्यालयले अत्यावश्यक कामका लागि ७०० पास जारी गरेको छ ।

प्रकाशित मिति: १९ वैशाख २०७७, शुक्रबार  १३ : ४१ बजे