उत्तर कोरियाका नेता किम जोङ उन २० दिनपछि सार्वजनिक रुपमा देखिए

0
Shares


उत्तर कोरियाका नेता किम जोङ उन सार्वजनिक रुपमा देखिएका छन्। उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार नेता किम २० दिनपछि सार्वजनिक रुपमा देखिएका हुन्।

उत्तर कोरियाली समाचार संस्था कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) अनुसार नेता किमले रासायनिक मल उत्पादन गर्ने उद्योगको उद्घाटन गरेका छन्।

समाचार एजेन्सी केसीएनएले नेता किमले उद्योग उद्घाटन गर्ने क्रममा रिबन काट्दै गरेको तस्बिर पनि सार्वजनिक गरेको छ। तर, सरकारी समाचार एजेन्सीको यो दाबी तथा उसले सार्वजनिक गरेको तस्बिरको स्वतन्त्र रुपमा पुष्टि भने हुन सकेको छैन।

नेता किम अप्रिल १२ यता पहिलोपटक सार्वजनिक कार्यक्रममा उपस्थित भएको ठानिएको छ।

अप्रिल १५ मा हजुरबुवा (उत्तर कोरियाका संस्थापक) किम इल–सुङ्गको जन्मजयन्तीको विशेष समारोहमा उनी उपस्थित नभएपछि विभिन्न अड्कल भइरहेका थिए। नेता किम अप्रिल ११ मा वर्कर्स पार्टीको पोलिट्ब्युरो बैठकमा सहभागी भएपछि सार्वजनिक रुपमा देखिएका थिएनन्।

त्यसयता किमको स्वास्थ्य अवस्थालाई लिएर पुष्टि नभएका विभिन्न खबर आइरहेकै छन्। कतिले उनी गम्भीर बिरामी परेको वा निधन नै भएको हुन सक्नेसम्म दाबी गरेका छन्।

 

प्रकाशित मिति: २० वैशाख २०७७, शनिबार  ०७ : २१ बजे