कोरोनासँगै जोखिम हस्तान्तरण गरौं ‘…किन कि जीवन अमूल्य छ’

0
Shares

कोभिड-१९ का कारण बन्दावन्दीको पीडाले सताइरहेको वर्तमानको विश्वलाई अब आर्थिक कोरोनाले सताउने छ । कोभिडको समस्यालाई सम्बोधन गर्दै बीमा समितिले ‘कोरोना रोग बीमालेख’ बीमा योजना सुरु गरेको छ ।

यो बीमालेख कम आय भएका वर्गमा लक्षित गरी ल्याइएको छ । प्रतिव्यक्ति ३०० र ६०० प्रिमियम तिरेर सिंगो परिवारको बीमा हुने यो बीमा लेखबाट ५० हजार र एक लाख रुपैयाँ दाबी भुक्तानी पाइने व्यवस्था छ ।

हुँदै नहुनुभन्दा यो सानै भए पनि सकारात्मक छ र यसले कोरोना लागेका बिरामी तथा उसको परिवारले राहत मिल्छ । कम खर्चमा बीमा गरेर जोखिम सुुरक्षण गर्न भनि बीमा समितिले ल्याएको यो बीमालेखले बीमाप्रति आकर्षण बढाउन सहयोग गर्नेछ । विकासोन्मुख देशहरुमा बीमा क्षेत्रले कम महत्व पाएको सन्दर्भमा बीमा समितिले तत्काल राहत स्वरुप जारी गरेको कोरोना रोग बीमालेखले बीमाको आवश्यकताबारे सकारात्मक सन्देश दिएको छ ।

मानिस बितेको कुराबाट सिक्छ र भविष्यको योजना बनाउँछ तर पनि भविष्यका बारेमा अनभिज्ञ नै हुन्छ । भोलि के हुन्छ कसैलाई थाहा हुन्न । अचानक आइपर्ने घटनालाई कसैले पनि रोक्न सक्दैन तर त्यस्ता सम्भावित जोखिमको पूर्व सुरक्षा अपनाउन सक्दा त्यसबाट हुने क्षति कम गर्न सकिन्छ ।

कोरोनापछि सञ्चालनमा आएको कोरोना बीमालेख पनि यसकै सानो अंग हो । थोरै रकम बचत गरेर सम्भावित जोखिमको न्यूनिकरण गर्न जोखिम हस्तान्तरण गर्नुपर्छ भन्ने चेतना जनस्तरसम्म विस्तार गर्नु अत्यावश्यक भएको छ । किनकी बीमा भनेकै भविष्यमा हुने जोखिम अरुलाई हस्तान्तरण गर्नका लागि अपनाइने कानूनी सम्झौता हो । सामान्यतया बीमाले आर्थिक नोक्सान हुँदा क्षतिपूर्तिको ग्यारेन्टी गर्छ । क्षतिपूर्तिको ग्यारेन्टी गर्ने भएकोले यसमा केही शुल्क तिर्नुपर्ने हुन्छ । केही रकम तिरेर सम्झौता गरेपछि सोही सम्झौताका आधारमा कम्पनीले नोक्सानीको क्षतिपूर्ति प्रदान गर्छ । जो हरेकका लागि आवश्यक छ ।

हरेक क्षण मानिसको जीवन जोखिमयुक्त छ । जीवनका थुप्रै जोखिमसँग हामी लडिरहेका हुन्छौं । एक्लै लगिरहन कठिन हुने भएकोले बीमा गरेर दोश्रो पक्षलाई जोखिम हस्तान्तरण गर्ने हो । आफ्नो जोखिम अरुलाई हस्तान्तरण गर्दा त्यसले कहिल्यै घाटा दिँदैन । भन्नाले बीमा गर्ने व्यक्तिलाई घाटा होइन नाफा हुन्छ । बरु उज्वल भविश्यका लागि सहायक बन्छ । बीमा गरेको व्यक्ति बीमा अवधिभित्रै तलमाथि भएमा उसको परिवारलाई बीमा दाबी भुक्तानी मार्फत् तोकिएको रकम दिइन्छ । जुन रकमबाट उसको परिवारले जीविका चलाउन सक्छ ।

बीमामा एकोहोरो रकम तिरिरहनु मात्र पर्छ भन्ने भ्रम पनि छ । कतिपयले लामो अवधिसम्म रकम तिरिरहनुपर्ने भएकोले भोलि रकमको अभाव भयो भने तिर्न सकिन्न भनेर पनि जीवन बीमा गर्न अनकनाएको पाइन्छ । वास्तवमा कुरा फरक छ, भोलि रकम जम्मा गर्न नसकेर समस्यामा परिन्छ भनेर डराउनु भन्दा भोलि सम्भावित जोखिम भयो भने परिवारले के गर्ला भनेर डराउनु जरुरी हुन्छ ।

जीवन बीमा गरेको व्यक्तिले दुई वर्षको बीमाशुल्क भुक्तानी गरिसकेको छ भने तत्काल कुनै समस्या परे बीमा कम्पनीसँग बीमालेख धितो राखेर सम्पुण मूल्यको बढीमा ९० प्रतिशतसम्म ऋण सुविधा प्राप्त गर्न सक्छ । एकातिर तत्कालको समस्या समाधान भइरहेको हुन्छ भने जोखिम हस्तान्तरण पनि भइरहेको हुन्छ । थोरै रकम भएपनि अनिवार्य बचत भइरहेको हुन्छ भने त्यसले जोखिम बहनसँगै बोनस प्राप्त गरिरहेको हुन्छ । यो कुरा आमरुपमा बुझ्न र बुझाउन जरुरी छ ।

नेपालमा बीमा कम्पनीहरुको नियामक निकायका रुपमा बीमा समितिले काम गरिरहेको छ। समितिले सबै बीमा कम्पनिको रेखदेख गर्ने हुँदा बीमा क्षेत्रमा सञ्चालकहरुको मनोमानी चल्दैन । समितिले बीमा क्षेत्र सुधारका विभिन्न योजना तथा निर्देशनहरु जारी गर्ने र त्यसको कार्यान्वयन गराउने तथा अनुगमन गर्ने कार्य गरिरहेको हुन्छ । नेपालमा निजीस्तरबाट २०४४ सालमा नेशनल लाइफ एण्ड जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा व्यवसाय गर्न अनुमति पाएको थियो भने अहिलेसम्म १९ वटा जीवन बीमा कम्पनीले काम गरिरहेका छन् ।

नेपालको जीवन बीमा बजारमा भएको सम्भावनालाई मध्यनजर गर्दै १९ वटा जीवन बीमा कम्पनीहरु गाउँगाउँ पुगेका छन् तर पनि जीवन बीमाको जोखिम बहन अत्यन्त न्यून रहेको छ। बीमा समितिका अनुसार पछिल्लो समयमा सम्म लगभग १७ प्रतिशतसम्म मात्र जीवन बीमाको पहुँच पुगेको छ ।

कोरोनाको त्रासमा हामी आफूलाई चार दिवारभित्र राखेर सुरक्षित बनाउने प्रयास गरिरहेको अहिलेको अवस्थामा जीवनका थुप्रै जोखिम हाम्रा वरिपरि घुमिरहेका छन् भन्ने सत्य बिर्सन सकिन्न । स्वास्थ्यको जोखिम बराबरकै आर्थिक जोखिम पनि हो । जीवन बीमा गरेर जीवनमा आइपर्ने सम्भावित आर्थिक जोखिम कम गर्न सकिन्छ । थोरै भएपनि बचत गर्न सकिन्छ । आर्थिक खाँचो आइलागेका बेला वीमालेख धितो राखेर तत्कालको गर्जो टार्न सकिन्छ । जीवन बीमाका लागि तिरिएको बीमा शुल्कलाई आयकरको दायरासँग पनि जोड्न सकिन्छ । नेपालमा अहिले २० हजारसम्मको करलाई जीवन बीमाको शुल्कमा कम गर्न पाउने व्यवस्था छ।

जीवन बीमाका क्षेत्रबाट बीमा गर्ने व्यक्तिलाई मात्र नभइ सिंगो मुलुकलाई राम्रो फाइदा पुग्छ । हाम्रो जस्तो विकासोन्मुख मुलुकलाई पूर्वाधार विकासको लागि अत्याधिक रकमको आवश्यकता छ । त्यसका लागि दीर्घकालीन लगानी आवश्यक हुन्छ जुन लगानी जीवन बीमा क्षेत्रबाट जुट्नसक्छ ।

लामो अवधिका लागि गरिने जीवन बीमाको रकम कम्पनीहरुको दायित्वभित्र पर्ने र त्यस्तो रकम सुरक्षित लगानी गरेर मात्र प्रतिफल दिन सकिने हुनाले कम्पनीहरुले बीमाशुल्कका रुपमा उठाएको रकम एउटा निश्चित समयका लागि सरकारले विकास निर्माणमा लगानी गर्न सक्छ।

बैंकहरुमा आएको निक्षेप अल्पकालीन हुन्छ तर बीमा कम्पनीहरुमा आएको रकम निश्चित अवधिका लागि हुने भएकोले त्यो रकम देश विकासको सहायक हुन्छ । कोरोनाको समस्याले हामीलाई हाम्रो महत्व सम्झाएको छ । त्यसैले जीवन बीमा आजको आवश्यकता हो । व्यक्ति या परिवारको आर्थिक जोखिमसँगै राज्यको आर्थिक विकासको सहायकका रुपमा जीवन बीमालाई तल्लो तहसम्म लैजान जरुरी छ ।

जनजनमा जीवन बीमाको अपरिहार्यता बुझाउन सक्यौं भने राज्यको विकासमा पनि योगदान दिन सकिने छ । कोरोना वीमासँगै जीवन बीमा गरौं, आर्थिक जोखिम हस्तारन्तरण गरौं । किनकी जीवन अमूल्य छ ।

प्रकाशित मिति: २३ बैशाख २०७७, मंगलबार  ०६ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।