खुद नाफा २२० प्रतिशत बढाएर ६६ लाख कमाउने लघुवित्त चिन्नुहोस्

0
Shares

आम लगानीकर्तामा अझैपनि समाचारको शिर्षकमा आउने यति प्रतिशतले नाफा बढ्यो भन्नेले आकर्षण गरेको पाइन्छ। तर सो लघुवित्तको समग्र अवस्था प्रगतिको प्रतिशत र समग्रतामा भने विश्लेषण भने कमै भएको पाइन्छ।

यस्तै गत आवको तुलनामा २२०.१९ प्रतिशतले खुद नाफा वृद्धि गर्ने एउटा लघुवित्त हो सपोर्ट माइक्रोफाइनान्स (SMB) । यस लघुवित्तले यति ठूलो प्रतिशतले नाफा वृद्धि गरेपनि खुद नाफा भने जम्मा ६६ लाख २८ हजार रुपैयाँ छ। गत आवको सोही अवधिसम्ममा माइक्रोफाइनान्सले २० लाख ७० हजार खुद नाफा कमाएको थियो।

यसकै समकक्षि कतिपय लघुवित्तहरुले करोडौं नाफा आर्जन गरिरहेका छन्। गत आवको नाफाबाट १० प्रतिशत बोनस वितरण गरेपनि अझैपनि पूँजीमा गणना गरेको छैन भने पूँजीवृद्धिका लागि शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव साधारण सभाबाट अनुमोदन गराएको छ। पूँजीवद्धिसँगै लघुवित्तले कमाइ बढाउँदै लैजान नसकेको खण्डमा प्रतिशेयर आम्दानीमा चाप पर्दछ भने लगानीकर्ताले पाउने प्रतिफल पनि घट्ने गदछ।

बोनस पूँजीकरण नगरि चुक्ता पूँजी ६ करोड स्थिर देखाएको माइक्रोफाइनान्सको वार्षिक प्रतिशेयर आम्दानी बढेर १४.७३ रुपैयाँ पुगेको छ । जगेडा कोषमा २ करोड १३ लाख रुपैयाँ सञ्चित राख्दा प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ५९ पैसा कायम भएको छ भने मूल्य आम्दानी अनुपात ५३.२२ गुणा रहेको छ।

चैत मसान्तसम्ममा लघुवित्तले १७ करोड १ लाख रुपैयाँ निक्षेप संकलन र ६३ करोड ४० लाख रुपैयाँ बैंकहरुबाट सापटी लिएर ८६ करोड ३३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। यसबाट ३ करोड १९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यस अवधिमा लघुवित्तको खराब कर्जा अनुपात १.१९ बिन्दुले घटेर १.६७ प्रतिशतमा सुधार भएको छ।

 

प्रकाशित मिति: २५ वैशाख २०७७, बिहीबार  ११ : ०७ बजे