विदेशमा अप्ठ्यारो परेका नेपालीको उद्धार गर्न ध्यानाकर्षण

0
Shares

विभिन्न राजनीतिक दलका नेताले कोरोनाका कारण विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई आवश्यक व्यवस्थापन गरी तत्काल उद्धार गर्नुपर्नेमा जोड दिएका छन्।

प्रतिनिधि सभाको आजको बैठकमा समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोरोनाका कारण विदेशमा लाखौंको सङ्ख्यामा रहेका नेपालीले ठूलो सङ्ख्यामा रोजगारी गुमाएर स्वदेश फर्कने निश्चित भएको उल्लेख गर्दै ती नेपाली नागरिकका बारेमा बेलैमा गम्भीर भएर सोच्नुपर्ने बेला भएको बताए।

कोरोनाका कारण मुलुकभित्रै पनि दैनिक ज्यालादारी गर्ने र निम्न आर्थिक भएका मजदुरको समस्या पनि गम्भिर भएको उल्लेख गर्दै त्यसतर्फ सरकारको उचित ध्यान जान नसकेको टिप्पणी गरे।

नेता डा. भट्टराईले कोरोना परिक्षणको सङ्ख्या नगन्य मात्र गरिएको बताउँदै परीक्षणको दायरा बढाउनुपर्नेमा पनि ध्यानाकर्षण गराए। कोरोनाको सङ्कटमा सरकारले अध्यादेश किन ल्याउनुप¥यो भनी प्रश्न गर्दै उनले प्रमुख प्रतिपक्षी दलको सहभागीता हुने गरी गरिएको संबैधानिक व्यवस्था भत्काउन नहुने धारणा व्यक्त गरे।

साथै उनले लकडाउनका बेला सांसदलाई रातारात किन काठमाडौं ल्याउनुप¥यो भन्ने विषयमा सामान्य मानिसले पनि बुझ्ने बताउँदै सो बारेमा प्रहरीले जाहेरी लिन्न भन्नु दुखद् भएको उल्लेख गरे।

नेता भट्टराईले लकडाउनका कारण शैक्षिक गतिविधि बन्द रहेको अवस्थामा विद्यार्थीको भविष्यका बारेमा समेत सरकारको ध्यानाकर्षण गराए। उनले महामारीका बेला अग्रभागमा रही काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत प्रति सम्मान गरे।

  • जनताको जीवनरक्षामा केन्द्रित हुन माग

राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोले कोरोना भाइरसको सङ्क्रमणका कारण अप्ठ्यारोमा परेका नेपाली नागरिकको जीवनरक्षामा केन्द्रित हुन सरकारलाई आग्रह गरे।

उनले कोरोनाका कारण ज्यान गुमााउनेप्रति श्रद्धाञ्जलि अर्पण र सङ्क्रमितको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अग्रपङ्क्तिमा रहेर खटेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत प्रति सम्मान व्यक्त गरे।

कोरोनाको परीक्षण तीव्र बनाउनुपर्ने र स्वास्थ्यकर्मीलाई आावश्यक सामग्री उपलब्ध गराउनुपर्ने नेता महतोको माग थियो । विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्न सरकारसँग आग्रह गर्दै उनले जनतालाई राहत र जनताको उपचारमा सरकारलाई केन्द्रित हुन ध्यानाकर्षण गराए।

संसद्को प्रथम अधिवेशनको समयमा आफूहरुले स्थिर र बलियो सरकार गठन भएकामा सुशासन र समृद्धि होला संविधान पनि पूर्ण होला, सबैका अधिकार सुरक्षित होलान भनी खुशी हुँदै सरकारलाई समर्थन गरेको बताउँदै आजको दिनसम्म आइपुग्दा अपेक्षा गरेका जनताले के पाए भनी प्रश्न गरे।

राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले भारतका विभिन्न स्थानमा अप्ठ्यारोमा परेका नेपालीका तत्काल उद्धार गरी व्यवस्थापन गर्न माग गरे। साथै रोजगारी गुमाएका लाखौँ नेपालीको दीर्घकालीन समस्या समाधानका लागि समय मै श्रमसँग जोड्नु जरुरी रहेको उल्लेख गरे। स्वास्थ्य सामग्रीमा देखिएको अनियमितताका दोषीलाई कारवाही गर्न उनले माग गरे।

नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले कोरोनाका कारण उत्पन्न सङ्कटका बेला राहतसमेतमा पक्षपात भएको गुणस्तरहीन खाद्यान्न वितरण भएको बताउँदै कोरानाको रोकथाम र यसको प्रभावबाट उत्पन्न समस्या समाधानका लागि सरकार केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरे। साथै उनले कोराना परीक्षण गर्ने आरडिटी विधि भरपर्दो नभएको भन्दै बन्द गर्न माग समेत गरेका थिए।

प्रकाशित मिति: २६ वैशाख २०७७, शुक्रबार  १९ : ३७ बजे