उपप्रधानमन्त्री पोखरेलद्धारा कोभिड-१९ ट्रेसिङ एप ‘Covid NP’ को औपचारिक सुरुवात

0
Shares

कोभिड-१९ क्राइसिस् मेनेजमेन्ट सेन्टर (सिसीएमसी ओपिसी) को औपचारिक एप कोभिडएनपी को शुरुआत गरिएको छ ।

सूचना तथा प्रविधिका क्षेत्रमा काम गर्दै आएका आईमार्क प्रालि, पायोनियर एशोसियट तथा आइडल कन्सर्नले कोभिड नियन्त्रणका लागि सरकारलाई सघाउन निशुल्क तयार पारेको एपको उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले छाउनीमा स्थापना गरिएको सिसीएमसी सञ्चालन केन्द्रमा एक कार्यक्रमका बिच औपचारिक सुरुवात गरेका हुन् ।

आफ्नो मोबाइलमा कोभिड एनपीएप डाउनलोड गरे पछि पोखरेलले एपको अपडेटेड भर्सन रिलिज गर्ने बटन दबाएर औपचारिक सुरुवात गरेका हुन् । सम्भावित बिरामीको पहिचान गरी समयमा नै दु्रत स्वास्थ्य परामर्श लगायत थप उपचारको व्यवस्थालाई सहज बनाउने उद्देश्यले उक्त एप प्रयोगमा ल्याइएको हो ।

जो कसैले पनि गूगल प्लेस्टोर तथा एप्पलको एपस्टोर बाट कोभिडएनपी नामको उक्त एपडाउन लोड गरी प्रयोग गर्न सकिन्छ । गूगल प्लेमा अहिले नै उपलब्ध भैसकेको उक्त एप एप्पलको एप स्टोरमा केही दिनमा उपलब्ध हुने जानकारी कार्यक्रममा दिइएको छ । यो एपबाट कोभिड १९ रोगका लक्षण, संक्रमण बाट जोगिन अपनाउनुपर्ने सतर्कता, स्वास्थ्य परीक्षण लगायतका विषयमा विस्तृत जानकारी प्राप्त हुनेछ ।

प्रयोग गर्ने व्यक्तिलाई सोधिएको प्रश्नका आधारमा प्राप्त उत्तरको मूल्याङ्कन गरी प्रयोगकर्तालाई हरियो, पहेँलो र रातो गरी तीन श्रेणीमा विभाजन गरी आवश्यकता अनुसार पत्ता लगाउन सक्ने व्यवस्था गरिएको एप निमार्ण कम्पनी आइमार्क प्रालिका अध्यक्ष रामप्रसाद ढुङ्गानाले बताए ।

एप निर्माता अर्को कम्पनी पायोनियर एशोसियटका पायोनियर खड्काका अनुसार एपले सरकारलाई आम नागरिकबाट कोरोना संक्रमणको तथ्यांक संकलनमा मद्धत पुग्नेछ । एप सुरक्षित रहेको भन्दै उनले सबैलाई एप प्रयोग गरी ब्लुटुथ ट्रेसिङबाट आफू पनि सचेत हुन र तथ्यांक संकलनमा सरकारलाई सघाउन आग्रह गरे ।

एप निर्माणमा महत्वपुर्ण भुमिका निर्वाह गरेको अर्को कम्पनी आइडल कन्सर्नका प्रभाकर जैसवालका अनुसार एपमा मुलुकभरका अस्पताल, स्वास्थ्य मन्त्रालयका साथै सम्बद्ध पक्षबाट स्वचालित रुपमा डाटाहरु अद्यावधिक हुनेछ । यसले एकीकृत रुपमा कोभिड सम्बन्धित सबै तथ्यांकहरु एपमा जम्मा भई केही जानकारीहरु प्रयोगकर्तामा पुग्नेछ भने धेरै विबरण स्वास्थ्य मन्त्रालयका साथै कोभिड १९ क्राईसिस म्यानेजमेण्ट सेन्टरमा पुग्ने जैसवालले बताए ।

समारोहमा रक्षामन्त्री पोखरेलले महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यलाई थप प्रभावकारी बनाउँदै परिस्थितिलाई सहज बनाउने कार्यतर्फ सबैको इमान्दार प्रयासको खाँचो औँल्याए । उनले भने, “कोभिड– १९ बारे सूचना दिन बनाइएका एप आमनागरिकले सरल ढङ्गबाट थाहा पाउने, बुझ्ने र प्रयोग गर्नसक्ने हुनुपर्छ, गलत सूचना प्रवाह हुन नदिनेतर्फ सबै होसियार रहनुपर्छ ।”

कोभिडबारे यथार्थ जानकारी जनतालाई दिन जरुरी रहेको बताउँदै उपप्रधानमन्त्री पोखरेलले हरेक व्यक्तिले जानकारी होस् भन्ने हेतुले तयार गरिएको एपको प्रयोग गर्न, सही सूचनाप्राप्त र प्रवाहगर्न सम्पूर्ण नागरिकलाई आह्वान गरे।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण प्रसाद बिडारीले कोभिड– १९ सम्बन्धी जानकारी र सूचना एकीकृत रुपमा प्राप्त गर्न सकियोस् भन्ने हेतुले तयार गरिएको एपबाट प्रयोगमा सहज र सरल गराउने तथा दुरुपयोग नहोस् भन्नेमा उच्च सतर्कता हुन आवश्यक रहेको बताए।

प्रधानमन्त्रीका सूचना तथा प्रविधि सल्लाहकार असगर अलीले अन्य मुलुकमा प्रयोगमा ल्याएको जस्तै एप तयार भएको भन्दै प्रयोग गर्न सबैलाई अपील गरे । उनले कोभिड एनपीएपको प्रयोग सही तरिकाले सबैले गरेको खण्डमा कोरियाको जसरी नै संक्रमण नियन्त्रणमा सरकारले सफलता हासिल गर्ने र दैनिकी सहजबन्दै जाने विश्वास व्यक्त गरे ।

एप डेभलपर कम्पनी आईमार्कका अध्यक्ष ढुङ्गानाले कोरोना नियन्त्रणका लागि विभिन्न क्षेत्रमा कार्यरत ७० जनाभन्दा बढी प्रविधिक तथा चिकित्सकको योगदानमा एप तयार पारिएको बताए । कोभिड नियन्त्रणका लागि आफुहरुले गरेको पहल अनि सरकारको सक्रियतासँगै नागरिकको पनि उत्तिकै महत्वपुर्ण भुमिकाहुने भन्दै एप प्रयोग गरि हातेमालो गर्न उनले आग्रह गरे ।

उक्त एप मार्फत कोरोना सम्बन्धी आवश्यक जानकारी लिइ रोग नियन्त्रण र रोकथाममा सहयोग पु¥याउन आमनागरिकलाई अनुरोध गरिएको छ । उक्त एपमा राखिएका तथ्य तथ्याङ्क राष्ट्रिय सूचना केन्द्रको सर्भर मार्फत स्वस्थ्यमन्त्रालय, डेभलपर, प्रयोगकर्ता र सम्बद्ध पक्षकाबिचमा सम्पर्क स्थापित गर्नेछ ।

एप प्रयोगकर्ताहरुले ब्लुटुथ अन गरिराखेको खण्डमा सम्भावित संक्रमितहरुको पहिचानगर्न नागरिकलाई सहज हुने विश्वास गरिएको छ । जसका कारण आईमार्कले सबै प्रयोगकर्तालाई ब्लुटुथ बन्द नगर्न पनि आग्रह गरेको छ । कोभिड– १९ का सम्बन्धमा तथ्यपरक र एकीकृत तथ्याङ्क राख्न एप फलदायी हुने विश्वास लिइएको छ ।

गुगल प्लेस्टोर बाट कोभिडएनपी एप डाउनलोग गर्न निम्न लिंकमा जानु पर्ने हुन्छ । 

https://play.google.com/store/apps/details?id=com.nhrc.healthtrackernepal