काठमाडौं उपत्यकामा गाडी चलाउन आजदेखि ‘टाइम कार्ड’ लागू हुने

0
Shares

काठमाडौं उपत्यकामा गाडी चलाउन आजदेखि ‘टाइम कार्ड’ लागू हुने भएको छ ।

विभिन्न कार्यालय वा संस्थाका सवारीसाधनले अब तोकेको समयमा मात्र आफ्ना सवारीसाधन चलाउन पाउने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

सरकारले ४२ प्रकारका विभिन्न उद्योग व्यवसाय खोल्ने व्यवस्था गरेपछि सवारी व्यवस्थापनका लागि ‘टाइम कार्ड’ लागू गरेको हो। गत शुक्रबारदेखि ४२ प्रकारका उद्योगहरु खोल्न सरकारले अनुमति दिएको थियो।

महाशाखाले सरकारी कार्यालयलाई बिहान ९ बजेदेखि साढे १० बजेसम्म र घर फर्कन बेलुकी ५ बजेदेखि ६ बजेसम्म समय निर्धारण गरिएको जनाएको छ ।

यस्तै, तरकारी तथा अत्यावश्यक खाद्य सामग्री बिहान १० बजेभन्दा पहिल्यै ढुवानी गरिसक्नुपर्ने, बैंक तथा वित्तीय संस्थाका कर्मचारीले बिहान ९ बजेदेखि साढे १० बजेसम्म कार्यालय गइसक्नुपर्ने र बेलुका साढे ३ बजेदेखि ५ बजेसम्म फर्कनु पर्नेछ ।

अत्यावश्यक काम परेर समयअगावै वा पछि निस्कनु परेमा प्रहरीलाई जानकारी गराएर मात्र निस्कन महाशाखाले अनुरोध गरेको छ।