ग्लोबल आइएमई लघुवित्तको नाफा १०७% बढ्यो, खराब कर्जामा पनि वृद्धि

0
Shares

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड (GILB) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ८ करोड ४६ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

लघुवित्तले आर्जन गरेको यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १०७.३९ प्रतिशत अर्थात ४ करोड ३८ लाख ३९ हजार रुपैयाँ बढी हो।

सोमबार सार्वजनिक भएको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तको अधिकांश सूचकहरुमा उल्लेख्य सुधार भएको छ। लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै खुद नाफा उल्लेख्य बढेको हो।

लघुवित्तले १ अर्ब ३० करोड ६८ लाख निक्षेप र २ अर्ब ८१ करोड ९६ लाख सापटीबाट कूल ३ अर्ब ८९ करोड २२ लाख कर्जा प्रवाह गरेको छ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ९ करोड ५० लाख ४ हजार रुपैयाँबाट १७ करोड ७० लाख ९५ हजार पुगेको छ। त्यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा गत आवको चैतमा ६ करोड ७ लाख ३० हजार रुपैयाँ रहेकोमा हाल १३ करोड ३० लाख ४३ हजार पुगेको छ।

चुक्ता पूँजी २५ करोड ९५ लाख ७५ हजार रहेको लघुवित्तको प्रतिशेयर आम्दानी ४३.४९ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १६५.८८ रुपैयाँ, र मूल्य आम्दानी अनुपात १८.४७ गुणा छ।

ग्लोबल आइएमई बैंकको सहायक कम्पनीको रुपमा सञ्चालित यस लघुवित्तको जगेडा कोष गत चैतमा ५ करोड ५९ लाख ८० हजार रहेकोमा बढेर १७ करोड १० लाख १० हजार पुगेको छ।

लघुवित्तको निष्क्रिय कर्जा गत आवको चैत मसान्तको तुलनामा १.२४ बिन्दु बढेर १.७१ प्रतिशत पुगेको छ। खराब कर्जा बढेसँगै लघुवित्तले २ करोड ५८ लाख रुपैयाँ कर्जाको नोक्सानी व्यवस्था बापत छुट्याएको छ।

लघुविको कोषको लागत १०.६८ प्रतिशत रहेको छ।

प्रकाशित मिति: २९ बैशाख २०७७, सोमबार  ०६ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।